जर्मनमा स्वास्थ्य मन्त्रीअपहरणको योजना बनाएको आरोपमा एक महिला पक्राउ

नेपालखोज २०७९ असोज २७ गते १९:१७

वर्लिन । जर्मनीको प्रहरीले स्वास्थ्य मन्त्रीको अपहरण गर्ने योजना बनाएको भनिएकी अति दक्षिणपन्थी लकडाउन विरोधी समूहको नेतृत्वकर्ता भएको आरोपमा बिहीबार एक महिलालाई पक्राउ गरेको छ । यसै वर्षको सुरुमा प्रहरीले ‘हिंसात्मक आक्रमण र अन्य राज्यविरोधी गतिविधिको तयारी’ र स्वास्थ्यमन्त्री कार्ल लाउटरबाखलाई अपहरण गर्ने षडयन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानकर्ताहरुले एलिजाबेथ आर नाम गरेकी पाँचौं संदिग्धलाई पक्राउ गरेको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् । सन् २०२२ को जनवरीमा उनीमाथि जर्मनीको प्रजातान्त्रिक संस्थालाई अस्वीकार गर्ने अतिवादी समूहमा सामेल भएको आरोप लागेको थियो । यस समूहको मुख्य उद्देश्य जर्मनीमा गृहयुद्धको अवस्था सिर्जना गर्नु र अन्ततः संघीय सरकार र संसदीय लोकतन्त्रलाई अपदस्थ गर्नु रहेको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् ।

उक्त समूहले राष्ट्रव्यापी ‘ब्ल्याकआउट’को कारण बिजुली सुविधाहरू नष्ट गरेर यो हासिल गर्न चाहेको आरोप लगाइएको छ । यस समूहको प्रशासनिक शाखा एलिजाबेथ आरको अध्यक्षतामा रहेको बताइएको छ, जसले उच्च ओहदामा रहेर योजनाहरू अघि बढाउन र समन्वय गर्न योजनाहरू बनाएको थियो । उनीविरूद्ध नयाँ सदस्यहरू भर्ती गर्ने र हतियार र विस्फोटक पदार्थहरू किन्ने प्रयासमा पनि संलग्न रहेको आरोप लगाइएको छ ।

अभियोजनकर्ताहरूले भनेका छन्, ‘उनले पटक–पटक योजनाहरूको शीघ्र कार्यान्वयनको माग गरिन् र ठोस समयसीमा पनि माग गरेकी थिइन् ।’ गत अप्रिलमा उक्त षडयन्त्रको पर्दाफास भएपछि लाउटरबाखले आफूलाई निशाना बनाइएकाकारण प्रहरी सुरक्षामा राखिएको बताएका थिए । स्वास्थ्यमन्त्रीले कोभिड–१९ का उपायहरूको विरोधमा केही प्रदर्शनकारीहरू ‘अत्यधिक खतरा’ भएको र ‘राज्य र लोकतन्त्रलाई अस्थिर पार्ने मनसाय’ भएको बताएका छन् ।

जर्मनीमा कोरोना भाइरसविरुद्ध गरिएको प्रदर्शनले कहिलेकाहीँ दशौं हजार प्रदर्शनकारीहरूलाई आकर्षित गरेको थियो । आन्दोलनले खोपको प्रभावकारिताप्रति शङ्का व्यक्त गर्दै नव–नाजीहरू र अति दक्षिणपन्थी एएफडी पार्टीका सदस्यहरू सहितलाई व्यापक आकर्षित गरेको थियो । यद्यपि, यस वर्ष भाइरसको प्रतिबन्ध खुकुलो भएसँगै लकडाउनविरोधी प्रदर्शनहरू कम भएका छन् । रासस/एएफपी

प्रतिक्रिया