बुंमती प्रवर्द्धनका लागि महोत्सव हुँदै

काठमाडौं । काठमाडौँबाट नजिकै रहेको सम्पदा बस्ती बुङ्गमतीमा आउँदो शनिबार (असोज २९ गते) ‘बुंग महोत्सव’ गरिने भएको छ। भूकम्पले थलिएको धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक नेवारी बस्ती बुङ्गमतीलाई पुनर्जिवित गर्ने उद्धेश्यका साथ महोत्सव गर्न लागिएको हो ।
शनिबार बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने महोत्सवमा परम्परागत बाजा, सांगीतिक धुन, नृत्यसँगै नेवारी खाना, काष्ठकला, हस्तकला र परम्परागत सिप प्रदर्शन गरिनेछ। महोत्सवमा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन। युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट, लुमन्ती, सिआइयुडी, आइएचएस र सभा नेपालद्वारा सञ्चालित पर्य–सम्पदा परियोजनाले महोत्सव व्यवस्थापन गर्ने जिम्मा ‘इकोज इन द भ्याली’लाई दिएको छ ।
बुंग महोत्सवमा साँगितिक रमाइलोसँगै बुङ्गमतीलाई नजिकबाट नियाल्न र अनुभव गर्न मिल्नेगरी कार्यक्रमको व्यवस्थापन गरिएको ‘इकोज इन द भ्याली’का सहसंस्थापक भूषण शिल्पकारले जानकारी दिएका छन् ।
महोत्सवको मुख्य आकर्षण
बुंमती धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सम्पदा बस्ती हो । जहाँ मत्स्येन्द्रनाथ, ह्याग्रिव भैरव, प्रथमपुर विहार, कार्यविनायक मन्दिरसँगै थुप्रै फल्चा र पोखरीहरु छन् । सिंगो बस्तीलाई पुनर्जिवित गर्ने उद्धेश्यका साथ महोत्सवको दिन बस्तीका विभिन्न ठाउँमा दशवटा साँगितिक ब्याण्डले आफ्नो प्रस्तुती दिनेछन् । मच्छिन्द्रबहालमा कुटुम्ब, रैथाने लगायतका नेपाली धुन सुनाउने संगित ब्याण्डको प्रस्तुति रहनेछ भने प्रथमपुर विहार पञ्चामृत, कल्पकुञ्ज लगायतको संगितले गुञ्जयमान हुनेछ। यस्तै बाः छेँ फल्चामा बर्ता गन्धर्वको सारङ्गीको धुन सुन्न र वर्ड वारियरको प्रस्तुति हेर्न पाइनेछ । महोत्सवको अर्को आकर्षण भनेको सम्पदा बस्ती भ्रमण पनि हो ।
बुङ्गमतीको महत्वबारे बुझ्न र यहाँका पुरातात्विक महत्व बोकेका सम्पदाहरुबारे थाहा पाउन यो भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ । शनिबार बिहान ९ बजेबाट सुरु हुने ‘बुङ्गमती हेरिटेज वाल्क’ मा स्थानीय गाइडले बुङ्गमती घुमाउनेछन् । बुङ्गमती भ्रमण गर्न चाहनेले अनलाइनबाट फारम भर्नु पर्ने हुन्छ् । यस्तै बालबालिकाको लागि विभिन्न परम्परागत खेलहरुमा सहभागी हुने वातावरण पनि मिलाइएको ‘इकोज इन द भ्याली’ले जनाएको छ । यसका अलवा फोटो प्रदर्शनी, फेस पेन्टिङ, रञ्जना लिपीको क्यालिग्राफीसँगै बुङ्गमतीका स्थानीयको परम्परागत सिप र कौशलको समेत प्रदर्शनी हुनेछ ।


प्रतिक्रिया