सुरु भयाे निर्वाचन ई–बुलेटिन र कल सेन्टर

नेपालखोज २०७९ असोज २८ गते १८:४१

काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन ई–बुलेटिन र कल सेन्टर सञ्चालन गरेको छ । आयोगले स्थापना गरेको प्रेस अफिसको संयोजनमा सञ्चालित भएको सो ई–बुलेटिन र बेग्लै संयन्त्रबाट कल सेन्टर सञ्चालनमा आएको हो ।

आयोगमा आज आयोजित कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ती दुवै सेवाको शुभारम्भ गरे । उनले सञ्चारमाध्यम र सम्बद्ध पक्षलाई आयोगका निर्णय, गतिविधि र निर्वाचनका सूचना अनलाइनका रुपमा प्रवाह गर्न उक्त सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

पैसा नलाग्ने (टोल फ्रि) ११०२ नम्बरमा जुनसुकै दूरसञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा आएको हो । हाल दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म छ जना कर्मचारीबाट सञ्चालित हुने सो सेवाबाट लाभ लिन प्रमुख आयुक्त थपलियाले आग्रह गरे ।

प्रतिक्रिया