‘मङ्सिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै होइन, अग्रगमन र प्रतिगमनको लडाइँ पनि हो’

नेपालखोज २०७९ कार्तिक ४ गते १२:५६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं ७ ले आज आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि तयार भएको गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका हुन् ।

देशमा अहिले प्रष्टरुपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएकाले अग्रमगनको पक्षमा उभिएको आफूहरुको वाम लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष दाहालले भने, ‘ठूलो सङ्घर्षबाट प्राप्त भएको लोकतन्त्रको उपलब्धिको रक्षाका लागि प्रष्टसँग उभिनु जरुरी छ ।’ नेपाली कांग्रेस र वामपन्थी शक्तिको एकता र सहकार्यबाटै २०४६ सालको संयुक्त जनआन्दोलन सफल भएको र पञ्चायती तानाशाहीको अन्त्य भएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतापछि क्रमश: अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बतfP ।

राजनीतिक उपलब्धिको रक्षाका लागि तयार भएको गठबन्धनले यस निर्वाचन क्षेत्रको भावना बुझ्ने गरी उम्मेदवारी दिइएकाले सफल हुने विश्वास उgले व्यक्त गरे । उनले सङ्घीय संसद्का लागि गठबन्धनको तर्फबाट अगाडि बढाइएको उम्मेदवार मानुषी यमी भट्टराई आफ्नो काम इमान्दार रुपमा पूरा गराउन सक्ने विशेष क्षमता व्यक्ति भएको धारणा व्यक्त गरे।

काठमाडौं–७ का मतदाता सचेत भएको भन्दै उनले नेवार समुदायको कोर एरिया भएकाले पनि परिवतर्नको लक्ष्य र चाहनालाई आत्मसात् गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो नेवार समुदायको कोर एरिया पनि हो । यहाँ अहिले जस्तो कम्बिनेशन देखिएको छ त्यो यहाँको जनताको भावना बुझ्ने र विकास र समृद्धिको यात्रा अघि बढाउने खालको छ भन्ने मैले बुझेको छु ।’

प्रतिक्रिया