रेमिट्यान्समा सुधार : दुई महिनामा भित्रियो एक खर्ब ८७ अर्ब

काठमाडौं । मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात रेमिट्यान्स रकममा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक वर्षको पछिल्लो दुई महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स १९ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब ४ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स पाँच दशमलव आठ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ११ दशमलव तीन प्रतिशतले बढेर एक अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष भने यस्तो रकम पाँच दशमलव तीन प्रतिशतले घटेको थियो । चालु आवको भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक सय ६९ दशमलव नौ प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने यस अवधिमा ७० दशमलव छ प्रतिशतले वृद्धि भई ३९ हजार एक सय ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या चार सय २९ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई खर्ब अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया