महिलाको आयआर्जनको माध्यम बन्यो ‘होमस्टे’

नेपालखोज २०७९ कार्तिक ५ गते ७:३०

ढोरपाटन । चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै फेरिएको छ । उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ । काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा घरबास (होम–स्टे) सञ्चालन गरे ।

घरबास सञ्चालनपछि यहाँका महिला स्वरोजगार बन्नाका साथै दैनिकी र जनजीवनसमेत परिवर्तन भएको छ । सुरुमा घरबास सञ्चालन गर्न समस्या भयो तर पछि जान्दै, बुझ्दै र सिक्दै गएपछि उनीहरुमा निकै परिवर्तन आयो । नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरुले नेतृत्व विकास गरेर घरबासमा आउने पाहुनाको व्यवस्थापन उनीहरु आफैँ गर्छन् । खाना, बस्न र नाचगान गरेर मनोरञ्जन दिने कामसमेत हुँदै आएको छ ।

घरबास सञ्चालक माया पुन घर्ती भन्छिन, ‘होम–स्टे सञ्चालनमा आएपछि गाउँका आमा, दिदीबहिनीको चालचलन, बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ, पहिले चुलोचौकोमै सीमित हुने हामीहरु गाउँ समाजमा आफ्ना कुराहरु राख्न सक्दैनथ्यौँ, अहिले बोल्न सक्ने भएका छौँ, सुरु–सुरुमा त गाह्रो भयो, पाहुनाले भने जस्तो खानपान बनाउन सकिएन कि भन्ने हुन्थ्यो, अहिले धेरैले राम्रो भएको छ भन्दा खुसी लाग्छ, अझै सिक्ने क्रममा छौँ, जति सक्दो पाहुनालाई खुसी बनाउने प्रयास गरेका छौँ ।’

उनले घरबासलाई व्यावसायिक रुपमा विकास गरिरहेको भन्दै व्यवस्थापनलाई थप व्यवस्थित गरिरहेको बताउनुभयो । घरबास आफूहरुको आयस्रोतको माध्यम बन्नाका साथै गाउँको प्रचारप्रसारसमेत भइरहेको उनको भनाइ छ ।

पर्यटकीय हिसाबले धम्जा ओखले गाउँले निकै सम्भावना बोके पनि ओझेलमा परेको हुँदा यसको विकास गर्न आफूहरु जुटिरहेको घर्ती बताउनुहुन्छ । ‘होम–स्टे सञ्चालन भएपछि हाम्रो गाउँको प्रचारप्रसार भइरहेको छ, पर्यटकीय सम्भावना बोकेको हाम्रो गाउँलाई विकास गर्नुपर्छ भन्ने लक्ष्य राखेर काम गरेका छौँ, गाउँका महिला दिदीबहिनी एकताबद्ध भएर लागेका छौँ, बिस्तारै व्यावसायिक बन्दै पनि छौँ’, घर्तीले भनिन्, ‘होम–स्टेले गाउँलेलाई एकताबद्ध बनाउनाका साथै सामाजिक कार्यमा लाग्न प्रेरित गरेको छ ।’

स्थानीय पुस्पा छन्त्यालले घरबासले महिलाको दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याएको बताइन् । उनले गाउँ घरबास सञ्चालन गर्नुपूर्व आफूहरुले घाँसदाउरा गर्ने, पशुचौपाया पाल्ने र मेलापात गरेर जीविका निर्वाह गरेको स्मरण गरिन्र । घरबास महिलाको आयआर्जनको स्रोत बनिरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘पहिले हाम्रो दैनिकी घाँसदाउरा र मेलापात गर्दैमा बित्ने गथ्र्यो, अहिले मेलापातमा मात्रै सीमित हुन परेको छैन, घरमा पाहुनालाई परिकार बनाएर खुवाउने, हाम्रो कलासंस्कृति देखाउने गरेर बित्छ, यसबाट आम्दानी राम्रो भएको छ ।’

छन्त्यालले घरबास सञ्चालनमा आएको छोटो समयमै धेरै पर्यटक भित्र्याउन सफल भएको र आफ्ना गतिविधि र चालचलनमा परिवर्तन भएको बताइन् । उनले धेरैभन्दा धेरै पाहुना भित्र्याउने र उनीहरुलाई सन्तुष्ट बनाउने तथा स्थानीय गीतसङ्गीत र नाचले मनोरञ्जन दिन आफूहरु निरन्तर लागिपरेको बताइन् ।

‘हाम्रा लागि होम–स्टे सञ्चालन गर्नु बिल्कुलै नयाँ काम हो, नयाँ अनुभव हो, हामीले गर्नुपर्ने र सिक्नुपर्ने काम धेरै छन्, केही कमीकमजोरी पाहुनाहरुले पनि औँल्याइदिनुहुन्छ, सुधार गरिरहेका छौँ’, छन्त्यालले भनिन्, ‘पाहुनाले हामीबाट केही नयाँ कुरा सिक्नुहुन्छ भने हामीहरुले पनि उहाँहरुबाट नयाँ कुराहरु सिकिरहेका छौँ, यसले यहाँ धेरै परिवर्तन हुँदै गएको छ ।’

गाउँलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्षपहिले ‘बेलढुङ्गा सामुदायिक होम–स्टे’ स्थापना गरेको अध्यक्ष गोपाल श्रीसले बताए । पर्यटकीय क्षेत्र बेलढुङ्गाको काखमा रहेको धम्जा ओखले गाउँ सम्भावना बोकेको ठाउँ हुँदा आफूहरु सक्रिय रुपमा लागेको श्रीसले बताए । रासस

प्रतिक्रिया