प्रहरीलाई आइपर्ने हर चुनौतीमा सरकारको पूर्ण साथ छ : गृहमन्त्री

नेपालखोज २०७९ कार्तिक ६ गते १८:३२

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ (पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ) समूहको दीक्षान्त समारोहमा उनले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाणले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गरे । कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै उनले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने बताए ।

गृहमन्त्री खाणले प्रहरीका तालिममा आवश्यकताअनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न सङ्गठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेकोसमेत उल्लेख गरे । समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बूलाई स्व कुलानन्द स्मृति पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया