भारतीय पक्षले बम विस्फोट गराउँदा बालकको मृत्यु, विद्यार्थी संगठनद्वारा विरोध

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले भारतीय पक्षको लापरबाही र हेपाहा प्रवृत्तिका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको भन्दै विरोध गरेको छ । विज्ञप्तिमार्फत शनिबार युनियनले कुनै पनि सूचना जारी नगरी बम विस्फोट गराउँदा मानवीय क्षति हुन गएकाले सो घटनाको घोर भत्र्सना गर्दै क्षतिपूर्तिको समेत माग गरेको छ ।
भारतीय पक्षले लामो समयदेखि दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङको महाकाली नदी क्षेत्रमा सडक निर्माण गरिरहेको छ । सोही क्रममा शुक्रबार भारतीय पक्षद्वारा बम विस्फोट गराउँदा व्यास गाउँपालिका–२ दुम्लिङका कक्षा–३ मा अध्ययनरत ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो भने केही मानिस घाइतेसमेत भएका थिए ।
‘छिमेकी मुलुक भारतले नेपालमाथि निरन्तर हस्तक्षेप, अतिक्रमण र हेपाहा प्रवृत्ति देखाउँदै आएको र लामो समयदेखि भारतसँग सीमा जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङको महाकाली नदी क्षेत्रमा सडक निर्माणका क्रममा भारतीय पक्षद्वारा बम विस्फोट गराउँदा व्यास गाउँपालिका–२ दुम्लिङका कक्षा–३ मा अध्ययनरत ९ वर्षीय बालक पवन महराको मृत्यु भएको छ र केही मानिस घाइतेसमेत भएका छन्,’ युनियनका केन्द्रीय अध्यक्ष मिलन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सो घटनाले फेरि भारतीय विस्तारवादको असली चरित्र उदाङ्गो पारेको छ ।’
नेपालको राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताको आत्मसम्मानका लागि निरन्तर आवाज उठाउने र संघर्ष गर्ने बताउँदै युनियनले भनेको छ, ‘अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा निर्माण कार्य गर्दा दुई देशबीच आपसी सहकार्य गर्ने, विस्फोट गराउँदा पूर्व सूचना जारी गरी रोक्ने, सुरक्षा प्रबन्ध मिलाउने अनिवार्य सर्त हुन्छन् तर कुनै पनि सूचना जारी नगरी दादागिरी र हेपाहा शैलीमा भारतले एकपक्षीय ढंगबाट सडक निर्माण कार्यका लागि विस्फोट गराउँदा आज फेरि दुःखद घटना भएको छ, यस्ता अवैधानिक गतिविधि रोक्न हामी भारत सरकारलाई चेतावनी दिन चाहन्छौं ।’
युनियनले सो क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपको समस्या हल गरी समाधान निकाल्न नेपाल सरकारसँग आग्रह गरेको छ । साथै यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई सजायको भागेदार बनाउन सम्बन्धित निकायसँग माग गरेको छ । उक्त घटनामा ज्यान गुमाएका बालक महराको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दै भारतीय हस्तक्षेप र दादागिरीविरुद्ध प्रतिरोध गर्न तथा संघर्षमा उत्रिन सम्पूर्ण युवा विद्यार्थी र आम नेपाली जनसमुदायलाई विज्ञप्तिमार्फत अपिल गरेको छ ।


प्रतिक्रिया