पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई निर्वाचन आचारसंहिता विपरीतका कार्यका विषयमा स्पष्टीकरण सोधेको छ ।
सो जिल्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले उक्त विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपि कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको बताइएको छ ।
साथै निर्वाचन आयोगले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई राजनीतिक सम्लग्नताका विषयमा स्पष्टीकरण सोधेको छ । शिक्षक तिवारीलाई नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं. २(२) मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र हाल नेपाली काँग्रेसको विभिन्न चुनावी सभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भइरहेकोले आचारसंहिता अनुसारको कारवाहीका लागि आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको बताइएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
आचारसंहिताको सो दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन हुँदैन । आचारसंहिताको दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ । यसैगरी यही बिषयमा नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी सँग पनि स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया