६१ निर्वाचन क्षेत्रमा छैनन् महिला उम्मेदवार !

काठमाडौं । देश यतिबेला चुनावी ‘मुड’मा छ । आगमी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलहरूले उम्मेदवार खडा गरेका छन् । साथै, यसपाली स्वतन्त्र उम्मेदवारहरूको पनि उल्लेखनीय संख्यामा उपस्थिति देख्न सकिन्छ ।
संविधानले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ । यसको पालना ठूला राजनीतिक दलहरू समेत नगरेको अवस्था छ । उनीहरुले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा नौ प्रतिशतको हाराहारीमा महिला उम्मेदवार उठाएका छन् । नेकपा एमालेले ११, नेपाली कांग्रेसले पाँच र माओवादी केन्द्रले सात जना महिला उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा सहभागी गराएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौं–१ महिला उम्मेदवार बढी सहभागी भएको क्षेत्र हो । यस क्षेत्रका कुल ३२ उम्मेदवार मध्ये १० जना महिला र २२ जना पुरुष छन् । देशका ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार सहभागी नै नभएको आयोगले बताएको छ ।
महिला उम्मेदवार बढी भएको क्षेत्रहरु :
काठमाडौं–१
महिला उम्मेदवार १०, कुल उम्मेदवार संख्या ३२
सुनसरी–३
महिला उम्मेदवार सात, कुल उम्मेदवार संख्या २२
भक्तपुर–२
महिला उम्मेदवार ६, कुल उम्मेदवार संख्या २६
धनुषा–३
महिला उम्मेदवार ६, कुल उम्मेदवार संख्या ३१
दाङ–१
महिला उम्मेदवार पाँच, कुल उम्मेदवार संख्या १२
प्रतिनिधि सभा तर्फ महिला उम्मेदवार नभएका क्षेत्रहरु :
महिला उम्मेदवार नभएको निर्वाचन क्षेत्र सबैभन्दा बढी मधेस प्रदेशमा रहेको छ । यस प्रदेशका १५ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । त्यस्तै, महिला उम्मेदवार नभएको चुनाव क्षेत्र सबैभन्दा कम बाग्मती प्रदेश रहेको छ । यस प्रदेशका चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । त्यस्तै प्रदेश–१ का ११, सुदूरपश्चिम प्रदेशका १०, कर्णाली प्रदेशका ९, गण्डकी प्रदेशका ६ र लुम्बिनी प्रदेशका ६ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् ।

प्रतिक्रिया