तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

रामपुर । अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ
जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन् । तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित छन् । उनी देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा संलग्न छन् । उनी गरिब, दुःखीका आशा र भरोसाका केन्द्र बनेका छन् । जापानमा जन्मिएका ओकेबाजे नेपाली भूमिलाई कर्मथलो बनाएर निरन्तर सामाजिक सेवामा खटिएका छन् ।
शिक्षा, स्वास्थ्य, आमा समूह, महिला समूहलाई सहयोग, अर्थाभावमा विद्यालय जान नपाएका बालबालिकालाई पठनपाठनको व्यवस्था, विभिन्न सङ्घसंस्थाको भवन निर्माणलगायत क्षेत्रमा ओकेबाज ठूलो सहयोग गरेका छन् । उनकै सहयोगमा विद्यालय जान नपाएका बालबालिकाले राम्रो शिक्षा ग्रहण गर्न पाएका छन् ।
विशेषगरी ओकेबाजेले पाल्पामा रहेर यहाँको विविध समस्यालाई जापानका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सहयोग गरी समस्याको निकास दिँदै आएका छन् । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ । उनले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएसलगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चिएका छन् ।
हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्छन् । गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उनको स्वभाव छ । विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बनेका छन् ।
ओकेबाजेले यहाँका न्यून आय भएका नागरिक, दलित, विपन्न वर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाएका छन् । यसरी नेपालमा काम गर्दै जाँदा करिब तीन दशकको समय बितेको उनलाई पत्तो छैन । यसरी नै काम गर्न पाउँदा उनी खुसी देखिन्छ ।
आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योति दिने, औषधोपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ओकेबाजेले ठूलो धनराशि खर्च गरेका छन् ।
ओकेबाजे जापानमा शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा उनले काम गरिरहनुभएको छ । गाउँ–गाउँका गरिब, दु:खी नागरिकलाई सेवा गर्न पाउँदा निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताए ।

प्रतिक्रिया