पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री खाण

नेपालखोज २०७९ कार्तिक १७ गते १८:२८

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन् । उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् ।

एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने र जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरूबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहे खाणले आज भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन बनेको बताए ।
‘तीनदलीय गठबन्धन प्रतिगमनको पक्षमा छ । प्रतिक्रिया गर्न सक्छ । तर यसले देश चलाउन सक्दैन’, उनले भने ।

पञ्चायतविरुद्ध विसं २०४६ मा र २०६२/६३ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र वाममोर्चा मिल्दा सफल भएको उल्लेख गर्दै उनले त्यतिबेला नागरिकमाथि दमन गर्नेलाई जनताले राम्रोसँग चिनिसकेको बताए ।

प्रतिक्रिया