‘पर्ख र हेर’ को मनस्थितिमा म्याग्दीका पाका मतदाता

गलेश्वर । म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने सङ्केत देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा (एमाले)का तर्फबाट पूर्वपार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएकाले यस पटकको निर्वाचन पेचिलो बन्ने विश्लेषण हुन थालेको हो ।
चुनावका लागि जिल्लामा उम्मेदवारहरु एक अर्काको भोट बैंक भएका क्षेत्रलाई कब्जा गर्ने रणनीतिसहित चुनावी मैदानमा होमिएका छन् । दुवै पक्षका उम्मेदवारले आफ्नो जित निश्चित भएको जिकिर गर्दै आएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार गर्बुजाले म्याग्दीमा विसं २०५६ यता कम्युनिष्टले एकक्षत्र राज गर्दै आएको र कम्युनिष्टको यो किल्ला यस पटकको निर्वाचनबाट ढल्ने बताएका छन् भने एमालेका उम्मेदवार श्रेष्ठले गठबन्धनकै समर्थकको भोटले आफूले चुनाव जितेर देखाउने चुनौती गर्बुजालगायत गठबन्धनका नेतालाई दिएका छ्न् ।
यतिखेर दुवै पक्षका उम्मेदवार गाउँगाउँमा पुगेर आमसभा गरिरहेका छन् मतदाता रिझाउन उम्मेदवारले कुनै कसर बाँकी राखेका छैनन् । विभिन्न पार्टीका र स्वतन्त्र हैसियतमा पनि प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिइएकाले किसानका खेतबारीमा नै पुगेर काम सघाउँदै मतदाता रिझाएर आफ्नो पक्षमा मत दिन उम्मेदवारहरुले आग्रह गरिरहेका छन् तर जिल्लाका पाका मतदाता यस पटकको निर्वाचनमा निकै सोच विचार गरेर मात्र भोट खसाल्ने मनस्थितिमा पुगेका छन् ।
कुनै पार्टीको ओतमा नओतिइकन राम्रो र इमान्दार उम्मेदवारलाई ठम्याएर मात्र मत दिने मनस्थितिमा रहेको उनीहरुको भनाइ छ ।
‘पर्ख र हेर’ को मनस्थितिमा पाका मतदाता
मतदातामा कुन पार्टीको कुन उम्मेदवारलाई भोट दिने भन्नेबारे अझै खुल्न सकेका छैनन् । ज्येष्ठ, दलित र महिला मतदाता भने अहिले ‘पर्ख र हेर’को मनस्थितिमा रहेको पाइएको छ । इमान्दार र जनताका लागि काम गर्नसक्ने उम्मेदवारको पक्षमा मत खसाल्न पाका मतदाता इच्छुक देखिएका छन् ।
रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका ६९ वर्षीय रणबहादुर छन्त्यालले पञ्चायतकालदेखि गणतन्त्रसम्म पटकपटक मतदान गरे पनि आशा गरेजस्तो उपलब्धि प्राप्त नभएको बताए । ‘चुनावमा भोट हालेर नेतालाई त जितायौँ तर ती नेताले हाम्रो मन जित्ने गरी कामै गरेनन्’, चुनावअघि र चुनाव जितेपछि नेताको बोली र व्यवहारमा परिवर्तन आउने गरेको उल्लेख गर्दै उनले भने, ‘भोट नदिऊ भने पनि बल्लबल्ल आउने मौका गुमाउनुभएन, दिऊ भने पनि मनले खाएको योग्य व्यक्ति कोही हुँदैनन् । त्यसैले कसलाई भोट दिने भनेर अहिलेसम्म निधो गर्नै सकिएको छैन ।’
त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका ६६ वर्षीय न्यून दृष्टि भएका आइतबहादुर दर्जीले चुनावमा जसलाई भोट दिए पनि आफूजस्ता गरिब र दृष्टिविहीनका लागि कसैले पनि सहयोग नगरेको बताए । ‘मैले आजसम्म धेरै जनालाई भोट दिएँ तर चुनावपछि कसैले पनि तेरो अवस्था के छ ? के खाएर बाँचेको छस् भनेर सोध्न आएनन्’, पर्ती जग्गामा सानो छाप्रो बनाएर बस्दै आएका उनले भने, ‘देश विदेशमा रहेका केही मनकारी व्यक्तिको सहयोगले आजसम्म बाँचेको छु, नेताको आशा गरेर बसेको भए उहिल्यै मरिसक्थेँ ।’ दर्जीले आउँदै गरेको निर्वाचनका लागि आजका दिनसम्म कोही पनि मलाई भोट देऊ भनेर आफूसँग नआएका बताउँदै गाउँका जान्नेसुन्ने र भद्रभलाद्मीले जसलाई भोट देऊ भन्छ्न् उसैलाई दिने बताए ।
त्यसैगरी मालिका गाउँपालिका–५ देवीस्थानकी ५९ वर्षीया टकदेवी विकले चुनाव र चाडपर्व आफूलाई कहिल्यै पनि नआइदिए हुन्थ्योजस्तो लाग्ने गरेको गुनासो गरे । उनले भने, ‘मलाई त चुनाव र चाडपर्व भन्यो की रिस मात्रै उठ्छ, चुनावका बलेलामा नेता आउँछन्, मीठामीठा कुरा सुनाउँछन्, जितेर गए भने हामीलाई सधैँ निरासमात्र बनाउँछन्, चाडपर्व आउँदा पनि अरु रमाउँछन्, हामीलाई साँझको गुजारा कसरी चलाउने भन्ने पिरलो हुन्छ ।’ मङ्सिर ४ गते हुने चुनावमा कसलाई भोट दिने भन्ने आफूलाई अहिलेसम्म थाहा नभएको विकले बताए ।
यसैगरी मङ्गला गाउँपालिका–३ वरङ्जाका ५३ वर्षीय खगेश्वर सापकोटाले अहिलेको चुनावमा यो पार्टी र त्यो पार्टी नभनी इमान्दार र ‘भिजनेवल’ उम्मेदवारलाई हेरेर भोट दिने बताए । ‘अहिलेसम्म ठ्याक्क यसैलाई दिन्छु भनेर निधो गरिसकेको छैन तर पार्टी नहेरिकन अलि राम्रो र इमान्दार उम्मेदवारलाई भोट दिने मनस्थितिमा हामी छौँ’, उनले भने । सापकोटाले सबै पार्टीका उम्मेदवारको प्रतिबद्धतापत्र र पार्टीका घोषणापत्र पढेर, उम्मेदवारसँग प्रत्यक्ष कुराकानी गरेर र उनीहरुको क्षमता बुझेर मात्र अहिलेको निर्वाचनमा भोट दिने बताए । रासस

प्रतिक्रिया