भारतबाटै सस्तो अन्तरिक्ष यात्रा

एलोन मस्कको ‘स्पेस एक्स’बाट प्रेरित भएर ‘स्पेस औरा एरोस्पेस टेक्नोलोजी प्राली’ नामको मुम्बईको कम्पनीले यसका लागि १० फिट बाइ आठ फिटको ‘स्पेस क्याप्सुल वा स्पेसशिप’ बनाउन थालेको छ, जसमा पाइलटबाहेक छ जना अटन सक्छन् । यो स्पेस क्याप्सुल पृथ्वीबाट ३५ किलोमिटरको दायराभित्र रहनेछ। कम्पनीले देहरादुनको एक विश्वविद्यालयमा चलिरहेको विज्ञान प्रदर्शनी ‘आकाश तत्व’ मा मौलिक स्पेस क्याप्सुल ‘SKAP वन’ को प्रोटोटाइप पनि प्रदर्शन गरेको छ , जसले वैज्ञानिक तथा आम जनताहरुको राम्रो प्रतिक्रिया पाएको छ ।
सन् २०२५ सम्म कुर्नुपर्ने
स्पेस औराका संस्थापक तथा सीईओ आकाश पोरवालले सञ्चारमाध्यमसँगको कुराकानीमा कम्पनीले सन् २०२५ मा आफ्नो अन्तरिक्ष उडान सुरु गर्ने लक्ष्य राखेको बताए । अन्तरिक्ष उडानका लागि कर्नाटक र मध्य प्रदेशका दुई ठाउँ छनोट गरिएको र त्यस मध्ये एकको छिट्टै निर्णय गरिने उनले बताए । पोरवालका अनुसार भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) तथा टाटा इन्स्टिच्युट अफ फन्डामेन्टल रिसर्च (TIFR) का पूर्व वैज्ञानिकहरूको सहयोगमा कम्पनीले समयमै आफ्नो लक्ष्य पूरा गर्नेगरि काम गरिरहेको छ ।
स्पेस बेलुनले मद्दत गर्नेछ सबै महत्त्वपूर्ण आधुनिक सुविधाहरू, जीवन समर्थन र सञ्चार प्रणालीले सुसज्जित यो स्पेस क्याप्सुललाई हाइड्रोजन वा हिलियम ग्यासले भरिएको स्पेस बेलुनद्वारा समुद्र सतहबाट ३०-३५ किलोमिटर उचाइमा पुर्याइनेछ जहाँ पर्यटकहरू करिब एक घण्टासम्म बस्न सक्छन् । यसक्रममा पृथ्वी र अन्तरिक्षलाई नजिकबाट हेर्नुका साथै यसलाई महसुस पनि गर्न सकिनेछ । पोरवालले त्यसपछि उच्च उचाइमा रहेको स्पेस बेलुनबाट बिस्तारै ग्यास कम हुँदै जाने र एउटा प्यारासुट खोलिने अनस त्यसको सहायताले स्पेस क्याप्सुल तल आउन थाल्ने बताए । निश्चित उचाइमा अन्तरिक्ष बेलुनलाई स्पेस क्याप्सुलबाट अलग गरिनेछ र अन्तरिक्ष पर्यटकलाई सुस्त गतिमा आरामसँग तल ल्याइनेछ। पोरवालले पर्यटकलाई भ्रमणमा लानुअघि करिब एक साता योग एवं अध्यात्म विज्ञानको सहयोगमा शान्त वातावरणमा राखिने र उनीहरुको यात्रा सुखमय ढंगले टुङ्गोमा पुर्याउने समेत बताए ।
८० लाख खर्च
कम्पनीका संस्थापक आकाश पोरवालले अन्तरिक्ष यात्रा र भारतीय संस्कृतिको अद्भुत मिश्रण सिर्जना गरी विश्वभरका अन्तरिक्ष पर्यटकलाई भारततर्फ आकर्षित गरी भारतलाई अन्तरिक्ष पर्यटन गतिविधिको केन्द्रबिन्दु बनाउने उद्देश्य रहेको बताएका छन । उनले विश्वका ठूला कम्पनी ‘स्पेस एक्स’ र ‘ब्लु ओरिजिन’को तुलनामा आफ्नो कम्पनीले निकै कम रकममा अन्तरिक्ष यात्रा गराउने र यसले अन्तरिक्ष पर्यटकलाई यहाँ आउन प्रेरित गर्ने दाबि गरेका छन । भाडाको अन्तिम टुंगो नलागे पनि यो ५० लाख भारु (८० लाख नेरु ) को हाराहारीमा रहने पोरवालले बताएका छन् ।

प्रतिक्रिया