पूर्ण चन्द्रग्रहण हेर्ने अवसर

नेपालखोज २०७९ कार्तिक २२ गते ७:१५

काठमाडाैं । खगोलविद् तथा अन्तरिक्षमा चासो राख्नेहरूले सन् २०२२ मा पूर्ण चन्द्रग्रहण हेर्ने मौका पाउने यो दोस्रो अबसर हो । आज २०७९ कार्तिक २२ गते मंगलबार अर्थात ८ नोबेम्बर २०२२ मा पूर्वी एशिया, अष्ट्रेलिया, प्रशान्त क्षेत्र अनि उत्तर अमेरिकामा चन्द्रग्रहण देखिनेछ ।

नेपालको कुरा गर्ने हो भने चन्द्रोदयको समयमा देशका सबै स्थानबाट ग्रहण देखिनेछ । यसअघि १५ -१६ मे २०२२ मा पूर्ण चन्द्रग्रहण देखिएको थियो । चन्द्रग्रहणको यो घटना नेपाली समय अनुसार १४:५४ मिनेटमा सुरु हुनेछ भने पूर्ण चरण १५ : ५६ मिनेटमा सुरु हुनेछ । ग्रहणको पूर्ण चरण १७ :२७ मिनेटमा समाप्त हुनेछ भने आंशिक चरण १६:३४ मिनेटमा समाप्त हुनेछ ।

यसपछि, नेपालमा अर्को चन्द्रग्रहण २८ अक्टोबर २०२३ मा देखिने छ र त्यो आंशिक चन्द्रग्रहण मात्र हुनेछ । अर्को पूर्ण चन्द्रग्रहण २०२५ मा मात्र हेर्न पाइनेछ ।

नासाको मार्शल स्पेस फ्लाइट सेन्टरका एस्ट्रोफिजिस्ट अल्फोन्स स्टर्लिङका अनुसार औसतमा हरेक १.५ वर्षमा एक पटक चन्द्रग्रहण लाग्ने गरेको छ भने यो वर्ष दुईपटक चन्द्रग्रहण हेर्ने अबसर जुटेको छ । स्टर्लिङ भन्छन् -यसलाई हेर्ने मौका नगुमाउनु होला, किनभने यसपछि अर्को पूर्ण चन्द्रग्रहण २०२५ सम्म हुनेछैन ।

प्रतिक्रिया