पतञ्जलीका केही औषधिको उत्पादन रोक्न आदेश

काठमाडाैं । उत्तराखण्ड आयुर्वेद तथा युनानी लाइसेन्सिङ प्राधिकरणले बाबा रामदेबको दिव्य फार्मालाई पाँचवटा औषधिको उत्पादन रोक्न आदेश दिएको छ । प्राधिकरणले बाबा रामदेबको कम्पनीलाई पाँचवटा औषधिको परिमार्जित ढाँचा पनि बुझाउन निर्देशन दिएको छ । दिव्य फार्मेसीले योग गुरु रामदेवका लागि पतञ्जली ब्रान्डका दबाईहरु उत्पादन गर्छ ।
हाल उत्पादन रोक्न भनिएका औषधिमा बीपी, मधुमेह जस्ता गम्भीर रोगहरुसँग सम्बन्धित औषधि छन्। दिव्य फार्मेसीको बीपीग्रिट, मधुग्रिट, थाइरोग्रिट, लिपिडोम ट्याब्लेट, इग्रिट गोल्ड ट्याब्लेट क्रमशः रक्तचाप, मधुमेह, गलगाँड, ग्लुकोमा तथा उच्च कोलेस्ट्रोलको औषधिका रूपमा बिक्री गरिन्छ । औषधि लाइसेन्स प्राधिकरणले अहिले यिनै दबाईको उत्पादन बन्द गरेको छ ।
प्राधिकरणले दिब्य फर्माले यी औषधिको परिमार्जित ढाँचाको प्रतिवेदन माग गर्दै नयाँ ढाँचा स्वीकृत नभएसम्म तिनको उत्पादन रोक्न भनेको हो । केरलाका एक डाक्टरको गुनासोमा पतञ्जलिको औषधिमाथि यो कारबाही गरिएको बताईन्छ । केरलाका डाक्टर केभी बाबुले औषधि लाइसेन्स प्राधिकरणमा उजुरी गर्दै दिव्य फार्मेसीले औषधि सम्बन्धि नियम उल्लङ्घन गरेको आरोप लगाएका थिए । उनले दिव्य फार्मेसीका उत्पादनहरूका बारेमा उत्तराखण्ड आयुर्वेद र युनानी लाइसेन्सिङ प्राधिकरणलाई पत्र पठाउँदै शृङ्खलाबद्ध गुनासो गरेका थिए ।
करिब तीन महिनाको अनुसन्धानपछि प्राधिकरणले दिव्य फार्मेसीलाई उत्पादन बन्द गर्न आदेश दिएको हो । प्रदेश स्वास्थ्य प्राधिकरणले दिव्य फार्मेसीलाई नोटिस पठाएर एक साताभित्र जवाफ मागेकोछ । दिब्य फार्मेसीले औषधिका नाममा भ्रम फैलाएको आरोप छ भने सञ्चारमाध्यमबाट सबै प्रकारका विज्ञापन तत्काल हटाउन फर्मलाई निर्देशन समेत दिइएको छ । यता पतञ्जलीका प्रवक्ताले पाँचवटा औषधिको उत्पादन रोक्ने सूचना प्राप्त नगरेको कुरा बताएका छन् । प्रवक्ता एसके तिजारावालाले फर्मलाई अहिलेसम्म त्यस्तो कुनै सूचना नआएको संचार माध्यमहरुलाई बताए ।








प्रतिक्रिया