शान्ति चौधरीकाे घोषणापत्र सार्वजनिक, जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिइने

काठमाडौं, । काठमाडौं–१ ‘क’ का नेपालका लागि नेपाली पार्टीकी प्रदेशसभा सदस्य उम्मेदवार शान्ति चौधरीको घोषणापत्र सार्वजनिक भएको छ । चक्रवर्ती हबि शिक्षा एकेडेमीका विद्यार्थीहरुको संयुक्त आयोजनामा आज (शुक्रबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि तयार पारिएको चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।
नेपालका लागि नेपाली पार्टीले ठुला भ्रष्टाचारी र जघन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्ने, भ्रष्टाचारीहरुको जनताद्धारा गठित नागरिक आयोगबाट छानबिन गर्ने, युवालाई ५० लाख सम्मको बिना धितो ऋण दिने, फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गरी निश्चित् स्थानमा व्यवसाय गर्न पाउने हकका लागि पहल गर्ने, निजामती कर्मचारीका सबै ट्रेड युनियन खारेज गर्ने, राज्यका कुनैपनि पदाधिकारीले ५० लाखभन्दा बढि मुल्यका गाडी किन्न र चढ्न नपाउने कानुनी व्यवस्था गर्नेलगायतका घोषणापत्रमार्फत प्रतिवद्धता गरेको छ ।
प्रदेशसभा सदस्यको उम्मेदवार ६६ वर्षीया शान्ति चौधरीले आर्थिक मन्दीमा पुगेको देशको अवस्था सुधार गर्नको लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारिन् । उनले भनिन्,‘संविधानमार्फत ल्याइएका सबै कुरा देशले धान्न नसक्ने अवस्था भएको छ, देश आर्थिक अवस्थाको हिसाबले पनि मन्दीमा पुगिसकेको छ, त्यसबाट देशलाई पार लगाउनको लागि मैले उम्मेदवारी दिएको हो ।’
उनले चुनावलाई खरायोको दौडको संज्ञा दिइन् । उनले भनिन्,‘जहाँ, शक्ति धनको प्रभाव हुन्छ । मतदातालाई आफ्नो पक्षमा लिन शक्तिशालीहरुले आफ्ना दलबाट भयभित पार्न अनेक दबाब पनि सिर्जना गर्छन् ।’ पछिल्लो समय युवा पुस्तालाई भोट दिने लहड चलिरहेको बेला आफूसँग पैसा नभएपनि चुनावमा होमिएको उनले स्पष्ट पारिन् । कमजोर भएपनि सक्षम उम्मेदवारलाई सबैले साथ दिनसमेत उनले आग्रह गरिन् ।

प्रतिक्रिया