विश्व मधुमेह दिवस २०२२ : विश्वको प्रमुख स्वास्थ समस्या

नेपालखोज २०७९ कार्तिक २७ गते ८:४०

काठमाडाैं । आजको जीवनशैलीमा मधुमेह विश्वको प्रमुख स्वास्थ समस्याका रुपमा देखापरेको छ । युवा जनसंख्यामा पनि ठुलो संख्या मधुमेहको शिकार भएको छ र यो संख्या लगातार बढिरहेको छ । मधुमेह सम्बन्धि जनचेतना जगाउन हरेक वर्ष नोबेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ । खानेकुरामा भिन्नता भएकाले सहरी जनसंख्याको तुलनामा ग्रामीण क्षेत्रमा मधुमेहका बिरामी कम पाइन्छन । यो रोगबाट जोगिन सचेतना मात्र होइन जीवनशैलीमा पनि परिवर्तन आवश्यक छ ।

खानपानको अनियमित बानी र कम शारीरिक क्रियाकलापका कारण मधुमेहका बिरामी सहरमा बढी देखिन्छन् । सन् १९२२ मा चार्ल्स बेस्टसँग मिलेर इन्सुलिन पत्ता लगाउने सर फ्रेडरिक ब्यान्टिङको जन्मदिनको अवसरमा हरेक वर्ष १४ नोबेम्बरमा विश्व मधुमेह दिवस मनाइदै आएकोछ । सन् १९९१ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघ तथा विश्व स्वास्थ्य सङ्गठनले यो रोगको बढ्दो विकासलाई ध्यानमा राखेर यसका बारेमा चासो र सचेतना फैलाउन विश्व मधुमेह दिवस मनाइयो। त्यसयता हरेक वर्ष यसले निरन्तरता पाउँदै आएको छ ।

विश्व मधुमेह दिवस विश्वको सबैभन्दा ठूलो मधुमेह सचेतना अभियान हो, जुन १६० भन्दा बढी देशमा १ बिलियन भन्दा बढी मानिस बीच सञ्चालन गरिन्छ। यो अभियानले मधुमेहको मुद्दामा विश्वको ध्यानाकर्षण गराउन मदत पुर्याउँछ । यसले वर्षभरि मधुमेह-सम्बन्धि मुद्दाहरूका लागि विश्वव्यापी फोरम समेत प्रदान गर्दछ ।

यो अभियानको प्रतीक २००७ मा तयार पारिएको निलो लोगो हो । यसलाई संयुक्त राष्ट्र संघले पारित गरेपछि प्रचलनमा ल्याइएको थियो। हरेक वर्ष मधुमेह दिवस एक समर्पित विषयवस्तुका साथ सुरु हुन्छ। आजको दिनमा मधुमेह सम्बन्धी जनचेतना यो अभियानको मुख्य लक्ष्य हो । यसका लागि हरेक वर्ष फरक–फरक विषयवस्तु चयन गरिन्छ । यो वर्षको विश्व मधुमेह दिवसको नारा ‘मधुमेह शिक्षामा पहुँच’ राखिएको छ ।

प्रतिक्रिया