आइतबार, जेठ ५, २०८२

के चीनको अर्थतन्त्र समस्यामा छ ?

नेपालखोज २०७९ कार्तिक २७ गते १३:३०

काठमाडाैं । हाल चीनको अर्थतन्त्रमा अनेकौं प्वाल देखापरेका छन्, त्यहाँ बेरोजगारी बढिरहेको छ र कोभिड लकडाउनका कारण अर्थतन्त्र पनि प्रभावित भएको छ । यो वर्ष चीन आर्थिक उत्पादनको हिसाबले एशियाका बाँकी भागभन्दा पछाडि पर्ने अनुमान गरिएको छ । शताब्दीयौंअघि चीन विश्वको सबैभन्दा समृद्ध राष्ट्र थियो र अहिले फेरि त्यही बाटोमा हिँडिरहेको थियो ।

चीनमा धेरै सरकारी कम्पनीहरू सुधारको भागका रूपमा बेचिएका थिए । विदेशी लगानीलाई अनुमति दिइएको थियो । चीनमा विश्वविद्यालयहरू सुरु भएका थिए । केही सिक्ने र नयाँ गर्ने संस्कृतिले स्थान पाएको थियो । यस बीच चिनमा उत्पादन, प्रविधि र उद्योगको क्षेत्रमा तीव्र प्रगति भएको छ । चीनको आर्थिक बृद्धिदर विश्वमा सबैभन्दा तिब्र छ । डा. यु जिया भन्छिन्, ‘अब मानिसहरूले विचारधारा र नेतृत्वप्रति वफादारी देखाउने मात्र होइन, आफ्नो आर्थिक समृद्धिको बारेमा सोच्न थालेका छन् ।
आज चीनका सबै अर्बपतिहरू एउटै पुस्ताका हुन्, जसले निजी क्षेत्र लाई बढावा दिन थाले पछि व्यवसाय सुरु गरे ।’

चीन सन् २००१ मा विश्व व्यापार संगठनमा सामेल भएको थियो । उसले निर्यातलाई बढावा दिएको छ । देशको एक भागबाट अर्को भागमा मालसामान सजिलै ढुवानी गर्न सक्ने गरी यातायात सञ्जाल निर्माण गरेको छ । अर्थतन्त्रको प्रगतिसँगै चिनियाँ जनताको जीवनमा परिवर्तन आउन थाल्यो । चिनियाँहरुले पैसा बचत गर्न थाले र सुरक्षित लगानी विकल्पहरू खोज्न थाले। डा यु जिया भन्छन्, ‘पहिले सेयर बजारमा अस्थिरता थियो । त्यतिबेला सम्पत्ति क्षेत्रले राम्रो प्रतिफलको ग्यारेन्टी गर्दथ्यो । त्यसैले मानिसहरू बचत र लगानीका लागि घरजग्गा बजारतिर लागे ।’

हाल चीनका जनताको घरायसी बचतको करिब ७० प्रतिशत घरजग्गामा लगानी गरिन्छ। सम्पत्ति बजारले चिनियाँ अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगटेको छ । तर अहिले यसमा थुप्रै कमजोरी पनि देखिन थालेका छन् । आर्थिक प्रगतिसँगै चीनमा मध्यम वर्गको संख्या बढेको छ। धेरै मानिस सहरतिर लागेका छन् । सम्पत्ति विकासकर्ताहरूले यो अवसरको फाइदा उठाएका छन् तर सबै कुरा सोचे अनुसार हुन सकेन ।

अक्सफोर्ड विश्वविद्यालयको चाइना सेन्टरका अनुसन्धान सहयोगी जर्ज म्याग्नस भन्छन्, ‘चीनको विकास एउटा अनौठो मुद्दा हो । कुनै पनि देशले सधैं दोहोरो अंकमा वृद्धि गर्न सक्दैन् ।’ जर्ज म्याग्नसले एउटा पुस्तक लेखेका छन्, ‘रेड फ्ल्याग्स, व्हाय शी इज चाइना इज इन जोपार्डी ।’ विश्व बैंकले यो वर्ष चिनियाँ अर्थतन्त्रको वृद्धिदर एशिया प्रशान्त क्षेत्रको बाँकी क्षेत्रभन्दा पछाडि पर्ने अनुमान गरेको छ। यो ३० वर्ष भन्दा बढीमा पहिलो पटक हुनेछ । जर्ज बताउँछन् – चीनको अर्थतन्त्र धेरै समस्याहरूसँग संघर्ष गरिरहेको छ, तर तीमध्ये सबैभन्दा महत्त्वपूर्ण मानवअधिकार र विदेश नीतिका बारेमा पश्चिमी देशहरूसँगको मतभेद छ। जर्ज म्याग्नस भन्छन्, ‘व्यापार र प्रतिबन्धको सन्दर्भमा चीनका लागि बाह्य कारणहरू धेरै जटिल भएका छन् ।

राष्ट्रिय सुरक्षाका मुद्दाहरू, सिनजियाङ प्रान्तका मानिसहरूको मुद्दा, हङकङमा कडाइ, एसिया र दक्षिण चीन सागरमा ताइवान सँगै अन्य देशहरूसँगको समस्या, धेरै कुराहरूले व्यापार र लगानीको सन्दर्भमा चीनको सम्भावनालाई नकारात्मक असर गरिरहेको छ ।’ जर्ज भन्छन् – चीनले बाँकी विश्वसँग व्यापारिक सम्बन्ध जोडेर आर्थिक प्रगति हाँसिल गरेको छ तर अहिले सम्पर्कहरू तोडदैछ। अमेरिका र अन्य देशहरूले पनि यसलाई अलग गरिरहेका छन् ।

कोभिड प्रतिबन्धले पनि समस्या बढाएको छ । यो वर्ष सरकारले सयभन्दा बढी सहरमा लकडाउन गरेको छ । ‘मलाई लाग्छ कि चीनको अर्थतन्त्रले एउटा नयाँ बाटो खोज्नुपर्छ, टेनेसी विश्वविद्यालयमा आपूर्ति श्रृंखला व्यवस्थापनका क्लिनिकल एसोसिएट प्रोफेसर साराह सु भन्छिन्, आर्थिक वृद्धिमा आएको गिरावट रोक्न आवश्यक छ। यो दिगो परिदृश्य होइन।’

अहिले चिनियाँ जनताले आर्थिक संकटका कारण आफ्नो रोजगारी खतरामा पर्न सक्ने खतरा महसुस गरिरहेका छन् । घरजग्गाको भाउ घटेकाले पनि उनीहरु चिन्तित छन् । मानिसहरूले सम्पत्तिमा लगानी गरेको पैसा पनि डुब्ने डर छ। अब उनीहरूले आफ्नो बचत बढाउनेछन् र त्यति धेरै पैसा खर्च गर्ने छैनन् । समस्याहरू यहिँ समाप्त हुँदैनन। चिनमा अहिले बेरोजगारी पनि उत्कर्षमा छ । लकडाउनका बेला मानिसले उपभोग पनि घटाए । उनीहरू मूल्य घटेसम्म पर्खन चाहन्छन् ।
चीनको प्रगतिको गति सुस्त भएको छ । देशको अर्थतन्त्रको ऋण दोब्बरले बढेको छ ।

आर्थिक उदारीकरणले चिनक‍ो समृद्धिको बाटो खोल्न सक्छ । यसका लागि राष्ट्रपति सी जिनपिङले नियन्त्रणहरु हटाउनु पर्ने भए पनि उनको कार्यशैलीले त्यसको सम्भावना नगण्य रहेको सङ्केत गर्छ। अर्थतन्त्रको कठिनाइ बढ्छ कि घट्छ भन्ने कुरा चीनले ऋणको बढ्दो बोझलाई सम्हाल्न सक्छ कि सक्दैन भन्ने कुराले तय गर्नेछ। तत्कालका लागि भने , द्रुत प्रगतिका दिनहरू समाप्त भै अँध्यारो युग सुरु भएको देखिन्छ।
(बीबीसीकाे फिचरमा आधारित )

प्रतिक्रिया