आइतबार, जेठ ५, २०८२

विश्वकपको आयोजक कतार

नेपालखोज २०७९ कार्तिक २७ गते १७:०३

काठमाडौं । खाडी राष्ट्र कतार यसरी विश्व रंगमञ्चमा कहिल्यै देखा परेको थिएन । उर्जाले धनी कतार यो महिनाको अन्त्यमा आफ्नो माटोमा फुटबल विश्वकप खेल्दा विश्वभरका खेलप्रेमीहरूको नजरमा हुनेछ ।

कतार, एक औँठा जस्तै आकारको प्रायद्वीप देश हो जुन पर्शियन खाडीमा अवस्थित छ । समुन्द्रमा विध्यमान प्राकृतिक ग्यासको विशाल भण्डारका आधारमा प्रति नागरिक सम्पत्तिको हिसाबले यो विश्वको शीर्ष देश हो । यो पैसाले यसलाई अरब संसारको सबैभन्दा प्रसिद्ध स्याटेलाइट न्यूज च्यानल अल जजीरा स्थापना गर्न, ठूलो अमेरिकी सैन्य अड्डा निर्माण गर्न तथा तालिबानले प्रयोग गर्ने पश्चिमसँगको मुख्य मध्यस्थकर्ताको मुख्य भूमिका प्राप्त गर्न मद्दत गरेको छ ।

अरबी प्रायद्वीप कतारले साउदी अरेबियासँग आफ्नो भूमि सिमाना साझा गर्दछ भने यो टापु राष्ट्र बहराइन र संयुक्त अरब इमिरेट्सको पनि नजिक छ । यो फारसको खाडीमा उरानको सीमामा छ र यहाँ प्राकृतिक ग्याँसको ठूलो भण्डार छ । कतार अमेरिकी राज्य डेलावेयर भन्दा दोब्बर छ । यसको २ दशमलव ९ मिलियन जनसंख्या मध्ये अधिकांश जनसंख्या राजधानी दोहा वरपर पूर्वी तटमा बसोबास गर्छ । कतार मूलतः समतल छ र गर्मीमा यसको तापक्रम ४० डिग्रीभन्दा माथि जान्छ अनि त्यसमा आर्द्रता पनि प्रसस्तै हुन्छ।

कतारमा निरंकुश सरकार छ, जसलाई त्यहाँका अमिर शेख तमिम बिन हमाद अल थानीले चलाएका छन् । ४२ वर्षीय अमिरले सन् २०१३ को जुनमा आफ्नो बुबाले राजगद्दी त्यागेपछि सरकारको नेतृत्व सम्हालेका थिए। यो मुलुकमा ४५ सदस्यीय सल्लाहकार परिषद् पनि छ तर वास्तविक शक्ति धनीहरूको हातमा छ ।

अन्य खाडी देशहरू जस्तै कतारमा पनि राजनीतिक दलहरू प्रतिबन्धित छन् । युनियन गठन गर्ने वा हडताल गर्ने अधिकार धेरै सीमित छ। देशमा स्वतन्त्र मानवअधिकार संगठन पनि छैन । यहाँको जनसङ्ख्याको १० प्रतिशत मात्र मूल नागरिक छन् र उनीहरूले जन्म देखि चिहानसम्म पुग्दा सबै किसिमका सरकारी सुविधा प्राप्त गर्छन् । कतारको नागरिकता प्राप्त गर्न निकै कठिन छ ।

अल थानीको परिवारले सन् १८४७ देखि कतारमा शासन गर्दै आएको छ । यद्यपि यो पहिले ओटोमन साम्राज्य अन्तर्गत र त्यसपछि ब्रिटिश शासन अन्तर्गत थियो। बेलायत यो क्षेत्रबाट अलविदा भएपछि कतार सन् १९७१ मा स्वतन्त्र भयो । दोस्रो विश्वयुद्धपछि कतारबाट तेल निर्यात सुरु भएको थियो ।

सन् १९९७ मा कतारले विश्वमा तरल प्राकृतिक ग्यास पठाउन थाल्यो । ग्यास बिक्रीको पैसाले कतारको क्षेत्रीय महत्वाकांक्षालाई बढाई दियो। कतारले अल जजीरा स्याटेलाइट न्यूज नेटवर्क स्थापना गरेकोछ , जसले मास मिडियामा अरब अवधारणाको प्रचार गर्न मद्दत गरेको छ । कतारले कतार एयरवेज पनि चलाउँदै आएकोछ जुन पूर्व र पश्चिम जोड्ने संसारको उत्कृष्ट एयरलाइनहरू मध्ये एक हो ।

कतारले वहाबी का रुपमा चिनिने सुन्नी इस्लामको अत्यन्त रूढिवादी शाखालाई पछ्याउँछ। यद्यपि छिमेकी साउदी अरेबियाको विपरीत, यहाँ विदेशीहरुलाई रक्सी पिउन अनुमति छ । कतारले इजिप्टको मुस्लिम ब्रदरहुड र इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सी सहित २०११ अरब वसन्तको समयमा इस्लामवादी शक्तिहरूलाई समर्थन गरेको थियो । यसबाहेक कतारले सिरियाली राष्ट्रपति बसर अहमदका विपक्षीहरूलाई समर्थन गरेको थियो। अलकायदा नेता ओसामा बिन लादेनको अडियो ( भिडियो बक्तब्यहरु प्रशारण गरेर अल जजिरा पनि चर्चित भएको थियो ।

कतारले चरमपन्थी समूह हमाससँग र सन् २०२१ मा अफगानिस्तानबाट अमेरिका फिर्ता हुने क्रममा अमेरिका- तालिवान वार्तामा मध्यस्थकर्ताको भूमिका खेलेको छ । बहराइन, इजिप्ट, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले कतारलाई इस्लामिक सेनालाई समर्थन गरेका कारण धेरै वर्षदेखि बहिष्कार गरेका थिए । यो बहिष्कार अमेरिकामा जो बाइडेनले राष्ट्रपति चुनाव जिते पछि समाप्त भयो।

१९९१ मा खाडी युद्धको समयमा, कतारले नरे अल उदैद एयर बेसमा एक अर्ब डलर भन्दा बढी लगानी गर्यो, जसमा पश्चिमी देशका सेनालाई बस्न अनुमति दिईएको थियो । अमेरिकी सेनाले सेप्टेम्बर ११ को आक्रमण पछि अनि अफगानिस्तानमा आक्रमण गरेपछि यो बेसलाई गुप्तचर आधारका रूपमा प्रयोग गर्न थालेको थियो । सन् २०२२ को मार्चमा उपराष्ट्रपति डिक चेनीले मध्यपूर्वको भ्रमण गरे पछि अमेरिकाले यो सैन्य अड्डाको प्रयोग गरिरहेको कुरा विश्वले थाहा पाएको थियो ।

त्यस पछि अमेरिकी सेनाको केन्द्रीय कमाण्डको मुख्यालय सन् २००३ मा अल(उदेदमा सारियो। यहाँबाट अफगानिस्तान, इराक र सिरियामा हवाई अभियान पनि चल्यो । इस्लामिक स्टेट विरुद्धको युद्धमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको थियो र आज पनि यहाँ ८ हजारभन्दा बढी अमेरिकी सैनिक छन् । त्यहाँ अमेरिकाबाहेक टर्कीका सेना पनि तैनाथ छन् । -एपी

प्रतिक्रिया