चुनाबमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्न पाइन्छ ?

नेपालखोज २०७९ कार्तिक २८ गते १३:५४

काठमाडौं । निर्वाचनसँग सम्बन्धित सूचनाहरु आम सर्वसाधारणसम्म पुर्‍याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ ।

आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नम्बर ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरु राख्न सक्छन् । २४ घण्टा नै खुला रहने यो फोन नम्बर मा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्येक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिन्छन भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वत: रेकर्ड हुने व्यवस्था छ जसको जवाफ पछि कर्मचारीहरुले दिन्छन । हालसम्म कलसेन्टरमा आएका विभिन्न जिज्ञासा मध्ये सबैले बुझ्नु पर्ने केही महत्वपूर्ण प्रश्न तथा जवाफ यस्ता छन् :

छैटौँ तहको कर्मचारीलाई मतदान अधिकृत र सातौँ तहकोलाई सहायक मतदान अधिकृतमा राखेकोमा के गर्न सकिन्छ ?
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ को दफा १० को खण्ड (क)मा गाउँपालिका क्षेत्रभित्रको मतदान केन्द्रमा सामान्यतया राजपत्रांकित तृतीय श्रेणी वा सो सरहको कर्मचारी वा शिक्षक र नगरपालिका क्षेत्र भित्रको मतदान केन्द्रमा समान्यतया राजपत्रांकित द्वितीय श्रेणी वा यो सरहको कर्मचारी वा उच्च माध्यमिक वा माध्यमिक शिक्षकलाई मतदान अधिकृत खटाउने व्यवस्था उल्लेख छ ।

त्यस्तै सोही दफाको खण्ड (ख) मा मतदान अधिकृत खटाउदा खण्ड (क) बमोजिम कर्मचारी वा शिक्षक खटाउन नसकिने भएमा सोभन्दा एक तहमुनिको कर्मचारी वा शिक्षकलाई मतदान अधिकृत खटाउने व्यवस्था छ । उपरोक्त बमोजिमको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्नुपर्छ ।

भारतीय नम्बर प्लेटको गाडीको प्रयोग गरेर प्रचारप्रसार गर्न पाइन्छ कि पाइँदैन ?
कुनै पनि उम्मेदवार वा दलले निर्वाचन प्रचारप्रसारमा कुनै पनि विदेशी नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न पाइँदैन ।

निर्वाचन खर्चको सीमा कहाँबाट हेर्न पाइन्छ ?
निर्वाचन आयोगको वेवसाइटमा अर्थात https://election.gov.np/np/page/expense-limit लिंकमार्फत हेर्न सकिन्छ ।

निर्वाचनको समयमा विद्यालयमा विभिन्न राजनीतिक दलका भातृ संघ संगठन खोल्न पाइने हो कि होइन ?
पाइँदैन ।

स्वास्थ्य स्वयंसेविकाले मतदाता शिक्षा सञ्चालन गरेवापत के कति सुविधा पाउने हो रु सबै पालिकाबाट पाउने सुविधामा एकरुपता पाइन्छ कि पाइँदैन ?
सम्बन्धित स्थानीय तहबाट नै सेवा सुविधा पाउन सक्छन् । यसरी खटिने स्वयंसेवकलाई निर्वाचन आयोगले प्रचारप्रसार सामाग्री उपलब्ध गराउँछ ।

समानुपातिकतर्फका उम्मेदवारले मतदानका दिन सवारी पास कहाँबाट लिन पाइन्छ ?
समानुपातिकतर्फका उम्मेदवारले सवारी पास पाउने व्यवस्था छैन ।

निर्वाचनको दिन सार्वजनिक सवारी साधन चल्छ कि चल्दैन ?
सामान्यत अनुमति नलिइ सवारी साधन चलाउन पाइँदैन । यस सम्बन्धमा आयोगले निर्णय गरेबमोजिम हुनेछ ।

प्रतिक्रिया