पृथ्वीको जनसंख्या आजदेखि ८ अर्बभन्दा बढी

काठमाडाैं । संसारको जनसंख्याले आज नोबेम्बर महिनाको पन्ध्र तारिक देखी आठ अर्बको संख्या पार गर्दैछ । सन् १९५० मा संसारमा अढाई अरब मानिस थिए । यस अर्थमा पछिल्ला ७२ वर्षमा संसारको जनसंख्या ३ गुणा बढेको छ । यद्यपि जनसंख्या बढ्ने रफतारमा पछिल्लो समयमा निकै कमिआएको छ ।
सन् १९६२ देखि १९६५ को बिच जनसंख्या वृद्धिदर २ दशमलव १ प्रतिशत थियो- भने २०२० मा आइपुग्दा जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा पनि कममा सीमित भयो । संयुक्त राष्ट्र संघको अनुमान अनुसार २०५० पुग्दा नपुग्दै पृथ्वीको जनसंख्या आधा प्रतिशतभन्दा कममा खुम्चिन सक्छ । औसत आयु र युवाहरुको बढ्दो जनसंख्याका आधारमा के अनुमान गरिँदैछ भने सन् २०३० सम्ममा यो पृथ्वीमा अझै आधा अर्ब मानिस थपिने छन् ।
सन् २०५० सम्म संसारको जनसंख्या ९ दशमलव ७ अर्बभन्दा बढी हुनेछ भने सन् २०८० मा संसारको जनसंख्याले १० अर्बको आँकडा पार गर्नेछ । यद्यपि अमेरिकी संस्था हेल्थ म्याट्रिक्स एन्ड इभ्यालुएसनको अनुमान छ- संसारको जनसंख्याले १० अर्बकाे आँकडा पार गर्ने छैन् । २०२० मा जारी रिपोर्टमा उक्त संस्थाले भनेको थियो-सन् २०६४ मा संसारको जनसंख्या आफ्नो चरममा पुग्नेछ भने सन् २१०० मा संसारको जनसंख्या घटेर ८ दशमलव ८ अरबमा सीमित हुनेछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वैज्ञानिक उपलब्धिका साथै पोषण, जनस्वास्थ्य एवं सरसफाइमा आएको सुधारका कारण विश्वको जनसंख्या आठ अर्ब नाघ्न लागेको बताएका छन् ।
उनले भनेका छन्, ‘यद्यपि मानव परिवार जति ठूलो हुँदै गएको छ, त्यति नै विभाजित पनि हुँदै गएको छ । अर्बौं जनता सङ्घर्षमा छन्, करोडौंले भोकमरीको सामना गरिरहेका छन् । ठूलो संख्यामा मानिसहरू नयाँ अवसरहरू खोजिरहेका छन्, तिनीहरू ऋणबाट बाहिर निस्कन अनि युद्ध र जलवायुको प्रकोपबाट जोगिन चाहन्छन् । विश्वव्यापीरुपमा ब्याप्त धनी र पिछडिएका बीचको खाडल कम नगरेसम्म हामी तनाव र अविश्वास, संकट र द्वन्द्वले भरिएको आठ अर्ब मानिसको सुखि संसारको कल्पना गर्न सक्दैनौं ।’ तथ्याङ्कहरू साक्षि छन् केही अरबपतिहरूसँग संसारका सबैभन्दा गरिब आधा मानिसहरूको बराबर सम्पत्ति छ ।
एन्टोनियो गुटेरेस भन्छन्, ‘विश्वव्यापी रूपमा शीर्ष एक प्रतिशत मानिसले विश्वको आयको पाँचौं भाग उपभोग गरिरहेका छन् । यसैगरी धनी देशहरूमा मानिसहरूले गरिब भन्दा ३० वर्ष बढि बाँच्ने आशा गर्न सक्छन् । पछिल्ला दशकहरूमा विश्व धनी र स्वस्थ बन्दै गएपनि यी असमानताहरू पनि बढेका छन् । गुटेरेस भन्छन्, ‘दीर्घकालीन प्रवृत्तिका साथसाथै हामीले वातावरणीय संकट र कोरोना महामारी जस्ता गम्भीर समस्याहरूको पनि सामना गरिरहेका छौं । हामी बिस्तारै जलवायु प्रकोप, उत्सर्जन र बढ्दो तापक्रमतर्फ अघि बढिरहेका छौं ।
ग्लोबल वार्मिंगमा कुनै पनि योगदान नगर्ने देशहरूलाई पनि यसले असर गरेको छ । उनले युक्रेनमा जारी युद्धले खाद्य, ऊर्जा तथा आर्थिक संकट सिर्जना गरिसकेको र त्यसको नकारात्मक असर विकासोन्मुख देशहरूमा परेको बताए । यी असमानताहरूले सबैभन्दा बढी महिला, बालिकाहरू तथा कमजोर वर्गलाई असर गर्छ, जुन पहिलेदेखि नै गम्भीर भेदभावमा परेका छन् । धेरै देशहरू गहिरो ऋणमा डुबेका छन्, गरिबी र भोकमरी बढ्दै गएको छ अनि यसले जलवायुलाई पनि असर गरिरहेको छ र यो संसार थप चुनौतीहरुले घेरिँदैछ । (यो समाचार अन्तर्राष्ट्रिय संचार माध्यमहरुबाट लिइएको हो । )
प्रतिक्रिया