के तपाईं एलोन मस्क बन्न चाहनुहुन्छ ?

काठमाडौं । जी २० शिखर सम्मेलनसँगै इन्डोनेसियाको बालीमा उद्योगीहरुको सम्मेलन पनि हुँदैछ । एलोन मस्क पनि उक्त बिजनेश फोरम बी – २० मा सहभागि छन्। त्यहाँ उनले अरबपति बन्न चाहने मानिसहरूलाई सल्लाह समेत दिएका थिए ।
एलोन मस्कसँग एलोन मस्क बन्न के गर्नुपर्छ भनेर सोध्दा उनले एलोन मस्क बन्न सजिलो नभएको बताए । भर्खरै ट्विटर किनेका मस्कले भने, ‘इच्छा शक्ति बलियो बनाउनु होस र बुद्धिपूर्वक छनौट गर्नुहोस् ।’ मस्कले भने, ‘मलाई थाहा छैन कति मानिस ‘म’ जस्तो बन्न चाहन्छन् । तिनीहरू त्यस्तो एलोन मस्क बन्न चाहन्छन्, जुन उनीहरुको कल्पनामा छ । यी दुवै एउटै कुरा होइनन् । इमानदारिपूर्वक भन्नुपर्दा, म जति आफैँलाई यातना दिन्छु त्यसको स्तर नै फरक छ ।
मस्कले इन्डोनेसियाको एक रिसोर्टमा संचालन भइरहेको बी–२० लाई भिडियोमार्फत सम्बोधन गरेका थिए । मस्क व्यक्तिगत रूपमा बालीमा हुने सम्भावना थियो, तर सम्मेलनको निरीक्षण गरिरहेका इन्डोनेसियाका मन्त्री लुहुत बिन्सर पण्डजैतानले मस्क अर्को हप्ता अदालतमा मुद्दाको सुनुवाइको तयारीमा व्यस्त भएकाले आउन नसकेको बताए । मस्कले आफ्नो जीवन निकै व्यस्त रहेको बताए ।
हालै ट्विटर किन्दा सामना गर्नुपरेको चुनौतीका बारेमा ठट्टा गर्दै उनले भने, ‘हालसालै मेरो कामको बोझ निकै बढेको छ। मतलब के भनुँ ? मसँग धेरै काम छ भनेर बुझ्नुहोस् ।’ जब मस्क क्यामेरामा आए, उनी अँध्यारो कोठामा बसिरहेका थिए। त्यसपछि उनले बत्ति गएको जानकारि दिए । बी-२० का वक्ताहरू मध्ये, मस्क सबैभन्दा बढी चर्चामा थिए तर, उनले यसअघि नबोलेको कुनै नयाँ कुरा भनेनन् ।
त्यहाँ उनलाई सीधा प्रश्न सोध्न पनि अनुमति थिएन , केवल मध्यस्थहरूले प्रश्न सोध्न सक्थे। भारत र इन्डोनेसिया जस्ता देशका लागि कम मूल्यको टेस्ला उपलब्ध हुने सम्भावनाका बारेमा सोध्दा उनले अब सस्तो मोडल ल्याउने कुरामा विचार गर्ने बताए । मस्कले भने, ‘हामी यस बिषयमा सोच्दैछौं । अझ सस्ता सवारी साधनहरू बनाउन आवश्यक छ र हामीले यसमा केही गर्नुपर्छ।’ उनले ट्विटरमा भएको परिवर्तनका बारेमा पनि कुरा गरे।
उनले ट्वीटरको भिडियोको लम्बाइ र मात्रा बढाउन चाहेको बताए । यसबाहेक, उनी ट्विटरमा सामग्री साझा गर्नेहरूसँग नाफा पनि बाँड्न चाहन्छन् तर, उक्त काम कसरी गर्ने भन्ने कुरा उनले खुलाएनन् । मस्कले ट्विटरमा आफ्नो व्यवहारका लागि प्रसस्त आलोचनाको सामना गर्नु परेको छ। कर्मचारीहरुलाई बर्खास्त गरेकोमा उनको चर्को आलोचना समेत भएको छ । बी–२० मा सम्बोधन गर्दै उनले भने, ‘सबैलाई खुसी राख्नसक्ने कुनै उपाय छैन ।’- एपी
प्रतिक्रिया