रुपन्देही क्षेत्र नं ५ : बुद्ध जन्मभूमिको विकास उम्मेदवारका ‘एजेन्डा’

नेपालखोज २०७९ कार्तिक ३० गते १३:२८

रुपन्देही । बुद्ध जन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र- ५ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैको चासोको विषय बनेको छ । यस क्षेत्रबाट उम्मेदवार बनेका सबै उम्मेदवारले लुम्बिनीको बृहत्तर विकास र बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने मुख्य एजेन्डा बन्ने गरेका छन् ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट भरतकुमार शाह र नेकपा एमालेबाट वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका शाह यो पटक पनि जित दोहोर्‍याउने रणनीतिका साथ चुनावी मैदानमा खटेका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर देशकै नमूना नगरपालिका बनाउन सफल भएकाले यसपटक नतिजा फेरिने विश्वाससहित घिमिरे चुनावी प्रचारप्रसारमा सक्रिय बनेका छन् । तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख घिमिरेलाई भने एमालेले पहिलोपटक सङ्घीय संसद्को उम्मेदवार बनाएको हो ।

‘यो क्षेत्रका लागि शाह परिचित अनुहार हो । तर, घिमिरेले पनि तिलोत्तमामा सफल नेतृत्व गरेर नाम कमाएका कारण कस्ले बाजी मार्छ भनेर आंकलन गर्न सक्ने अवस्था छैन । कडा प्रतिस्पर्धा हुन्छ,’ स्थानीय समाजसेवी विष्णु बस्याल भने ।

कांग्रेस नेता शाहले २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका डिलाराम आचार्य र २०७० को निर्वाचनमा एमालेका स्व नेता रामनाथ ढकाललाई पराजित गरेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका स्व नेता ढकालले शाहलाई पराजित गरेका थिए । त्यसअघि २०५६ सालमा पनि शाह निर्वाचित भएका थिए । यो क्षेत्रमा लगातार जित्दै आएका शाह यो पटक पनि जीत दोहोर्‍याउने बिश्वासमा थिए । ‘मैले यो क्षेत्रमा सडक तथा भौतिक संरचनामा उल्लेखनीय विकास गरेका कारण जित्दै आएको छुँ,’ शाह भने ।

तीनपटक सङ्घीय संसद्मा निर्वाचित भइसकेका शाहलाई मुलुकमै सफल जनप्रतिनिधिको छवि बनाएका घिमिरेले कडा चुनौती दिएका छन् । उम्मेदवार घिमिरेले विगतको अनुभवका आधारमा बुद्धभूमिसँग जोडेर समग्र क्षेत्र नं ५ लाई नमूना बनाउने योजना सुनाउँदै मतदातासँग मत मागिरहेका छन् । ‘रुपन्देहीका अन्य क्षेत्रको तुलनामा यो ठाउँ पछाडि छ । यहाँको विकास र समृद्धिका लागि लुम्बिनीसँग जोडर केही योजना बनाएको छु, ती योजनाको कार्यान्वयनका लागि यो क्षेत्रमा नेतृत्व परिवर्तन आवश्यक छ,’ घिमिरे भने ।

प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट ५ ९१० मा भूमिश्वर ढकाल र ५९२० मा रामचन्द्र यादव तथा सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभा १ मा विनोद पहाडी र २ मा फखरुद्दिन खान चुनावी मैदानमा उत्रिएका छन् । एमालेका उम्मेदवार ढकाल पनि यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् । यादवलाई भने एमालेले पहिलोपटक उम्मेदवार बनाएको हो । पडाडी संविधानसभाका सदस्य भइसकेका छन् भने खान यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार भीष्म राना र सब्बिर खाँ पनि चुनावी मैदानमा छन् । यो क्षेत्रमा गैडहवा गाउँपालिका, सैनामैना नगरपालिका-५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका-१ तथा ३ देखि ११ सम्म र मायादेवी गाउँपालिका-१ पर्दछ ।

प्रतिक्रिया