बालुवा मजदूरलाई चुनावले छोएन

लेखनाथ । सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकताहरु सडकमा माइकिङ् गर्दै प्रचारप्रसार गर्छन् तर उहाँलाई यसले छुँदैन ।
‘नेताहरु मदजूरको हितमा काम गर्छु, भोट दिनुहोस् भन्दै टोलमा आउँछन् । उनीहरुलाई थाह छैन, यसले भोट दिन पाउँछे की पाउँदिन’, उनले भने, ‘मैले भोट दिन पाउँदैन भनेर पनि भन्न सक्दैन बरु नेता आउँदा भोट दिउँला भन्दै पठाउने गरेकी छु ।’ गौरीका श्रीमानले कान्छी श्रीमति लिएर हिँडेको १७ वर्ष पुगिसक्यो । न उनीसँग नागरिकता छ न मतदाता परिचय पत्र नै । श्रीमानले अर्की श्रीमति लिएर हिँडेपछि तीन छोरी र एक छोरा पाल्ने जिम्मेवारी गौरीको काँधमा आयो ।
छोराछोरीलाई पालनपोषण र शिक्षा दिनकै लागि गौरीले प्रत्येक दिन बिहान ६ बजेदेखि साँझसम्म रामघाटमै बालुवा बोक्छिन् । ‘मेरो जीवन बालुवामै गयो, मेरो जिम्मेवारी बालुवा बोकेर छोराछोरी पाल्ने हो’, उनले भनिन् ।
पोखराको सेती नदी किनारको रामघाटदेखि माथि डिलसम्म बालुवा ल्याए वापत ठेकेदारले दिने पैसाले उनले परिवार पाल्दै आएकी छिन् । ‘बालुवा बोकेरै पढाएका दुई छोरीको विवाह भइसक्यो’, गौरीले भन्नुभयो, ‘भोट हाल्ने रहर थियो तर भोट दिने कुनै कागज नै छैन ।’
पोखराको रामघाटमा बालुवा बोक्दै गरेकी खोटाङ जिल्ला निवासी ४७ वर्षे उदय मगर नेताहरुले मजदुरका माग पूरा गर्ने आश्वासन दिए पनि त्यो पूरा नभएको बताउँछन् ।
‘कति चुनाव आए र गए तर हामीले रामघाटमा बालुवा बोक्ने बाहेक अन्य काम पाएका छैनौँ’, उनले भने, ‘अहिले त महङ्गीका कारण बालुवा बोकेरै परिवार पाल्न नसक्ने अवस्था आएको छ ।’
युवा उमेर छँदा केही वर्ष आफू पनि गाउँमै राजनीति गरेको भए पनि त्यसमा सफलता हात नलागेपछि मजदुरीमा आएको उनको भनाइ छ । पत्नी हिराकुमारी पनि बालुवा बोक्छिन् ।
‘केही दिनअघि थला परेर १५ दिन सुत्दा मलाई हेर्न कोही आएन’ उनले भने, ‘चुनाव आएपछि नेता भोट माग्न आउँछन् तर भोट दिन खोटाङसम्म पुग्ने खर्च पनि छैन ।’ प्रत्येक निर्वाचनमा नेताले मजदूरलाई रोजगारी दिन्छाैँ र महङ्गी नियन्त्रण गर्छु भने पनि त्यो आश्वासन पूरा नभएको उनको गुनासो छ । -रासस

प्रतिक्रिया