ट्रम्पले किन यति छिट्टै उम्मेद्वारीको घोषणा गरे ?

काठमाडाैं । सन् २०१६ देखि २०२० सम्म अमेरिकी राष्ट्रपति रहेका डोनाल्ड ट्रम्प सन् २०२४ मा फेरि चुनाव लड्ने भएका छन् । आफ्नो उम्मेद्वारी घोषणा गर्दै उनले भने, अमेरिकाको पुनरागमन अब सुरु हुन्छ । आफ्ना उम्मेदवारहरूको अपमानजनक पराजय तथा यहि महिना सम्पन्न संसदको मध्यावधि चुनावमा पार्टीको अपेक्षाभन्दा कम प्रदर्शनका बाबजुद पनि ट्रम्पको मनोबल घटेको छैन ।
यसअघि उनले उम्मेद्वारीका लागि आफ्नो पार्टीमा दस्तावेज समेत बुझाइसकेका छन् । ट्रम्पको घोषणा असाधारण रूपमा निकै छिटो गरिएको छ । यो हतारको दुईवटा कारण हुनसक्ने विज्ञहरू बताउँछन् । एउटा -अन्य रिपब्लिकन नेताहरूबाट नेतृत्व लिनु हो जसले आफ्नो उम्मेद्वारीको बारेमा विचार गरिरहेका छन् र अर्को कुनै पनि सम्भावित आपराधिक मुद्दाहरूबाट जोगिन । अन्य धेरै रिपब्लिकन नेताहरू पनि २०२४ को चुनाव लड्ने तयारीमा छन् । तीमध्ये फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस पनि छन्, जो नोभेम्बर ८ मा भएको निर्वाचनमा पुनः निर्वाचित भएका छन् ।
ट्रम्पको विवादास्पद रेकर्ड र कानुनी समस्याहरूलाई ध्यानमा राख्दै, धेरै रिपब्लिकन नेताहरूले अर्को चुनावमा उनलाई पार्टीको झण्डा वाहक बनाउन कति उचित हुन्छ भनेर प्रश्न गरिरहेका छन् । सन् २०१६ मा डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनलाई हराएपछि ट्रम्प २०२० मा जो बाइडेनसँग पराजित भए ।
उनले आफ्नो कार्यकालमा दुई पटक महाभियोगको सामना गर्नु परेको थियो । ट्रम्प विभिन्न कानुनी विवादमा समेत फसेका छन् । एजेन्सीहरूले उनको कार्यकालका विभिन्न निर्णय र गतिविधिका बारेमा अनुसन्धान गरिरहेका छन् । तीमध्ये धेरै केस कस्ता छन् भने तिनले ट्रम्पको उम्मेदवारी खतरामा पार्नेछन् ।
उदाहरणका लागि, उनको पारिवारिक व्यवसायमा धोखाधडीको मुद्दा पनि छ, गत वर्ष क्यापिटल भवनमा भएको उपद्रोमा उनको भूमिका, २०२० चुनावको नतिजालाई उल्टाउने प्रयास गर्ने र गोप्य कागजात सार्वजनिक गर्ने काम आदि । अहिले रिपब्लिकन पार्टीले मध्यावधि चुनावमा पाएको घाउ निको पार्ने प्रयास गरिरहेको छ, जसका लागि ट्रम्पलाई मुख्य रूपमा जिम्मेवार मानिएको छ ।
मध्यावधि चुनावमा पराजयपछि ट्रम्पले आफ्ना धेरै सहयोगीहरू गुमाएका छन् । शक्तिशाली मिडिया मालिक रुपर्ट मर्डोकले ट्रम्पलाई समर्थन नगर्ने संकेत गरेका छन् । मध्यावधि चुनावमा भएको पराजयपछि मर्डोकले ट्रम्पलाई ‘लुटेरा’ भन्दै उनले लगातार नराम्रो निर्णय लिइरहेको बताएका छन् । कुनै समय ट्रम्प र उपराष्ट्रपतिका कट्टर समर्थक माइक पेन्सले एबीसी न्यूजलाई जनवरी ६, २०२१ मा ट्रम्पको व्यवहार लापरवाहीपुर्ण भएको बताए ।
यद्यपि ट्रम्पले चुनावमा पुनः उम्मेदवारी दिन हुन्छ कि हुँदैन भन्ने विषयमा उनले टिप्पणी गर्न अस्वीकार गरे । ‘यो निर्णय गर्ने अधिकार अमेरिकी जनतामा छ, तर मलाई लाग्छ कि हामीसँग भविष्यमा अझ राम्रो विकल्प हुनेछ,’ उनले भने । यद्यपि ट्रम्पका समर्थकहरू ठूलो संख्यामा छन् । उनीसँग करोडौं तल्लो तहका कार्यकर्ताहरूको फौज छ जसले देशभरी ‘मेक अमेरिका ग्रेट अगेन’ को नारा लगाईरहेका छन । ट्रम्पले आगामी चुनावकै लागि भनेर १० करोड डलरभन्दा बढी पैसा समेत उठाईसकेका छन् । स्रोत : रायटर्स, एपी
प्रतिक्रिया