देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गरिँदै

काठमाडौं । देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आजबाट यान्त्रिक उडान गर्ने भएको हो ।
यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोल, टावर, धावन मार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे/नगरेको परीक्षण गरिन्छ । कम्तीमा छ महिना र बढीमा दुई वर्षमा यान्त्रिक उडान गर्नुपर्छ ।
यान्त्रिक उडानका लागि एरोथाईको टोली नेपाल आइसकेको छ । एरोथाईको टोलीमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर र प्राविधिक छन् ।
टोलीले आज भैरहवास्थित गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ । शुक्रबार नेपालगञ्ज विमानस्थलमा परीक्षण उडान गर्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यान्त्रिक परीक्षण उडान गरिनेछ । यान्त्रिक परीक्षण उडान सफल भएको प्रतिवेदनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडानका लागि योग्य मानिनेछ ।
काठमाडौं, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया