नमूना माझी बस्तीका घर प्रयोगविहीन

नेपालखोज २०७९ मंसिर ३ गते १०:३५

सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् ।

भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले एक करोड सात लाख रुपैयाँ खर्चेर नमूना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए । बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याका छन् । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याएका छन् । तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए ।

तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताए । उनका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् ।

तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमूना बस्तीका घरमा आधा भागसम्म ढुंगाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमूना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए । उनका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई दुईदेखि १० लाख रुपैयाँसम्म ऋण लागेको उनले बताए ।

दीर्घकालीन सोच नराखी बनाइएको नमूना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ । -रासस

प्रतिक्रिया