सोमबार, वैशाख २४, २०८१

विश्वकप फुटबल, २०२२ : एकातिर विवाद,अर्कोतिर उत्साह

नेपालखोज २०७९ मंसिर ४ गते १२:००

काठमाडौं । पहिलो पटक विश्वकप खेल्ने पश्चिम एसियाको देश कतार अहिले विश्वकप फुटबलका कारण चर्चामा छ । यो प्रतियोगिता एसियामा दोस्रो पटक र कुनै पनि अरब राष्ट्रमा पहिलो पटक हुन लागेको हो । कतारको जनसंख्या २८ लाख मात्रै छ ।

खनिज तेलको अपार सम्पदाका कारण कतार विश्वको धनी राष्ट्रमध्ये एक हो । कतार धनी देश हो तर यहाँ मानवअधिकार उल्लङ्घनका समस्या छन् । यस्तो अवस्थामा कतारले विश्वकै चर्चित खेलकुद प्रतियोगिता आयोजना गर्ने ठूलो अवसर पाएक‍ो छ । अहिले कतारले फिफा विश्वकपमार्फत विश्वसामु आफ्नो छवि सुधार्ने प्रयास गरिरहेको छ । कतारमा जीवन कस्तो छ ? यहाँ फुटबल पागलहरु कति छन ? विश्व फुटबलमा कतारको अवस्था कस्तो छ ? केही रोचक जानकारी

विश्वकप फुटबल विवादको छायाँमा : सन् २०१० मा विश्वकप फुटबलक‍ो आयोजना जित्दा यो विश्वकै धनी राष्ट्र थियो । कतारलाई कुन परिस्थितिमा मेगा इभेन्टको आयोजना गर्ने अधिकार दिइएको थियो त्यो निकै विवादको विषय बनेको छ । कतारमा सीमित संविधान भएको इस्लामिक राजतन्त्र छ। यहाँ लामो समयदेखि मानवअधिकार उल्लङ्घनको गुनासो हुँदै आएको छ । १२ वर्षअघि कतारले विश्वकप आयोजना गर्दा सेप ब्लाटर फिफा अध्यक्ष थिए । ब्लाटरलाई भ्रष्टाचारको आरोप लागेको थियो तर पछि उनीहरु आरोपबाट मुक्त भए ।

त्यतिबेला कतार माथि होस्टिङ रिलिज गर्ने टेण्डरमा आर्थिक गडबडी गरेको आरोप लागेको थियो । कतारले विगत एक दशकदेखि यो प्रतियोगिताको तयारी गरिरहेको छ । यसका लागि नयाँ स्टेडियम तथा आगन्तुकहरू बस्ने नयाँ भवनहरू निर्माण गरियो। तर विवादले यो ठूलो अवसरमा पनि कतारको साथ छोडेन। यसक्रममा निर्माण कार्यमा संलग्न आप्रवासी कामदारहरु प्रति दास सरह व्यवहार गरिएको आरोप लाग्यो । कुरा यति बिग्रदै गयो कि फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले कतारले विश्वकप फुटबल आयोजना गर्नु सबैभन्दा ठूलो गल्ती हो भन्नुपर्‍यो।

विवाद बिच अपार उत्साह : यद्यपि कतारले यी आलोचनाहरूको वास्ता गर्दैन। उ विश्वसामु आफ्नो राम्रो छवि देखाउन विश्वकपको आयोजनालाई सफल बनाउन चाहन्छ । प्रतियोगितालाई लिएर कतारमा निकै ठुलो उत्साह र उमङ छ । एउटा सानो देशले यति ठूलो प्रतियोगिता आयोजना गर्नु आफैमा गौरवको कुरा हो । विश्वकप फुटबलको ज्वरोले पुरै विश्वलाई आक्रान्त बनाएको छ । यो खेलका फ्यानहरु कतार पुग्न थालिसकेका छन् । कसैलाई घर – बारको चिन्ता छैन, पैसाको चिन्ता छैन। फारसको खाडीको काखमा अवस्थित कतारमा अहिले उत्साहको लहर छ ।

कतारमा फुटबल : कतार पहिले बेलायतको संरक्षणमा थियो। यो १९७१ मा स्वतन्त्र भएको हो । सन् १९९३ मा कतारको फुटबल विश्ववरीयताको ५३ ओैं स्थानमा थियो। कतारले १९७० मा बहराइनसँग पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो। कतार त्यसपछि विस्तारै अघि बढ्दै गयो । उसले १९८४ मा गल्फ कपको फाइनलमा स्थान बनायो अनि त्यसपछि यो प्रतियोगिता तीन पटक जित्यो। कतारले सन् १९९० को शुरुमा एसियाली फुटबलमा आफ्नो छाप छोडेको थियो। १९९३ मा कतार फुटबल विश्ववरीयताको ५३ ओैं स्थानमा आयो ।

सन् २००६ मा कतारले एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो । २०१९ मा उसले पहिलो पटक एएफसी एसियन कपको उपाधि जित्यो। त्यसक्रममा कतारले चार पटकको च्याम्पियन जापानलाई ३–१ ले हराएको थियो । यो कतारको ठूलो उपलब्धि थियो । सन् २०२२ मा कतारको विश्ववरीयता ५० औँ स्थानमा छ । आयोजक राष्ट्र भएकाले कतारले पहिलो पटक विश्वकप फुटबल प्रतियोगिता खेल्ने अवसर पाएको छ ।

एसिया बाहिर कतारको प्रदर्शन : २०१९ मा कतारलाई कोपा अमेरिका कप खेल्न आमन्त्रित गरिएको थियो। त्यतिबेला कतार फुटबलको एसियाली च्याम्पियन थियो । समूह बी मा अर्जेन्टिना, कोलम्बिया र पाराग्वेसँगै कतार पनि थियो । कतारको पहिलो खेल पाराग्वेसँग २–२ गोलको बराबरीमा सकिएको थियो । कतार दोस्रो खेलमा कोलम्बियासँग १–० ले पराजित भयो । तेस्रो खेलमा बलियो अर्जेन्टिनासँग भिड्यो ।

अर्जेन्टिनालाई क्वार्टरफाइनलमा पुग्न उक्त खेल जित्नैपर्ने थियो । अर्जेन्टिना यसअघि कोलम्बियासँग २–० ले पराजित भएको थियो । उक्त प्रतिस्पर्धामा लिविङ लिजेन्ड लियोनेल मेसी पनि मैदानमा थिए जसमा अर्जेन्टिनाले बलियो खेल प्रस्तुत गर्दा कतारलाई २–० ले हरायो । सन् २०२२ को विश्वकप फुटबलको पहिलो खेल २० नोभेम्बरमा कतार र इक्वेडरबीच हुनेछ ।

प्रतिक्रिया