यस्तो हुनेछ विश्वकप-२०२२ को उद्घाटन समारोह

काठमाडौं । अहिले सबैको ध्यान आज (आइतबार) साँझ कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित छ जहाँ फिफा विश्वकप-२०२२ को भव्य उदघाटन हुनेछ । उदघाटन समारोह पछि हुने खेलमा घरेलु टिम कतार र इक्वेडर आमनेसामने हुनेछन ।
आयोजक कतारको विरासत एवं संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारहरुको प्रस्तुति विश्वकप उदघाटन समारोहको प्रमुख विशेषता रहनेछ । कतारले विश्वकपको उदघाटनलाई अहिलेसम्मकै भव्य बनाउने योजना बनाएको छ ।
फिफा विश्वकपको उदघाटन समारोह नेपाली समयअनुसार राती ७स्४५ बजे सुरु हुनेछ भने कतार र इक्वेडरबीचको उदघाटन खेल नेपाली समयअनुसार राती ९:४ मा सुरु हुनेछ । करिव एक महिनासम्म चल्ने विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम एचडी टेलिभिजनले गर्नेछ । विश्वकपको उदघाटन समारोह हेर्न टेलिभिजन दर्शकले शुल्क तिर्नु पर्दैन । सोमबारदेखि सुरु हुने खेलका लागि भने शुल्क तिर्नुपर्नेछ ।
पहिलोपल्ट एसियाको मध्यपूर्बमा हुन लागेको फिफा विश्वकपको उदघाटन समारोहमा विश्वविख्यात ब्राण्ड बीटीएसका गायक जंगकुकले प्रस्तुति दिदैछन । उदघाटन समारोहमा ३० मिनेटको विशेष कार्यक्रममा थुप्रै ‘सरप्राइज’हरु हुनेछन । जंगकुकले कतारी गायक फहद अल कुबैसीसँग मिलेर फिफाको आधिकारिक गीत ‘ड्रिमर्स’को प्रस्तुति पनि दिनेछन् ।
यो विश्वकपको उदघाटन कार्यक्रमको थिम सम्पूर्ण मानव जगतको मिलनः मानवता, सम्मान र समावेशीतामार्फत भिन्नता न्यूनीकरण हो ।
प्रतिक्रिया