आइतबार, जेठ ६, २०८१

३६ वर्षपछि बल्ल लालपुर्जा !

नेपालखोज २०७८ चैत ११ गते १३:५४

काठमाडौं । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगंगा नगरपालिकास्थित कोटमा झखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएकोे छ । वि सं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोके बमोजिमका सबै प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्न लागिएको हो ।

आयोगले नापी र मालपोत कार्यालय बाट सबै प्रक्रिया पूरा गरेपछि तयार भएका पुर्जा भेरीगंगा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले नै पुर्जा वितरण गर्ने बताइएको छ । आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले कोटमा झखर्कका ६७७ परिवारको आवेदन परेकोमा पहिलो चरणमा ४१७ जनालाई पहिलो प्राथमिकतामा राखेर पुर्जा वितरण गरिने जानकारी दिए । आयोगले यसअघि सात दिने सूचना जारी गरी थप कागजात, पूरक प्रमाण वा कुनै दाबी विरोध वा उजुरीका लागि जग्गाधनी प्रमाणपत्र पाउने व्यक्तिको नामावली सार्वजनिक गरेको थियो ।

विगतमा बनेका भूमि सम्बन्धी आयोग र समितिले तयार गरेको लगतलाई आधार बनाएर पुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि जग्गाधनी पुर्जा नपाउँदा त्यहाँका बासिन्दा बैंकिङ कारोबार, विद्युत लगायत सेवाबाट वञ्चित रहेका थिए । आयोगको जिल्ला कार्यालयका अनुसार कोटमा झखर्कको आठ हजार १५५ रोपनी जग्गाको नक्सा संकलन गरिएको छ । सुर्खेतमा पाँच हजार ९९४ भूमिहीन घरपरिवारको लगत संकलन गरिएकोमा अव्यवस्थित बसोबास गरिरहेका ४७ हजार ४४१ घरपरिवारले पनि आयोगमा निवेदन दिएका थिए । -रासस

प्रतिक्रिया