आइतबार, जेठ ५, २०८२

अफगानिस्तानमा मौलाय‍ो अफिम खेती

नेपालखोज २०७९ मंसिर ५ गते १३:४५

काठमाडौं । वर्ष – २०२२ को सुरुदेखि नै अफगानिस्तानमा अफिमको खेती झण्डै तीन गुणाले बढेको छ । संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालय (UNODC) का अनुसार यो वर्ष अफगानिस्तानका अफिम किसानका लागि सबैभन्दा लाभदायक वर्ष हुनेछ। अफगानिस्तानमा गत वर्षको तुलनामा ३२ प्रतिशतले बढेर २ लाख ३३ हजार हेक्टरमा अफिम खेती भएको राष्ट्रसंघीय निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले सन् १९९४ मा अफिम खेती हुने क्षेत्रको अनुगमन गर्ने प्रक्रिया सुरु गरेको थियो र त्यसयता सन् २०२२ देखि अफिम अफिमलाई अफगानिस्तानको तेस्रो ठूलो खेती घोषणा गरिएको छ ।

युएनओडीसीका अनुसार तालिबान सत्तामा आएदेखि अफिमको उत्पादन बढेको छ र यो वर्ष अफगान अफिम किसानका लागि सबैभन्दा लाभदायक वर्ष साबित हुनेछ। एजेन्सीले मंगलबार जारी गरेको प्रतिवेदनअनुसार २०२१ मा अफिम बिक्रीबाट किसानले ४२ करोड ५० लाख डलर आम्दानी गरेका थिए, अहिले २०२२ मा त्यो तीन गुणाले बढेर १ अर्ब ४० करोड डलर पुगेको छ ।

तालिबान सरकारले अफिम खेती र अफिमको व्यापारमा प्रतिबन्ध लगाएको छ, तर अफिमको उच्च मूल्यले किसानहरूलाई अफिम बाली उब्जाउने जोखिम लिन प्रोत्साहित गर्छ । यो अफगान किसानहरूका लागि मात्र नभई उनीहरूका नेताहरूका लागि पनि लाभदायक व्यवसाय हो। यहि अफिमबाट हिरोइन उत्पादन हुन्छ ।

अफगानिस्तानको विश्वभर उत्पादन हुने अफिम र हेरोइनमा लगभग एकाधिकार छ। संयुक्त राष्ट्रसंघकाअनुसार विश्वमा हुने कुल अफिम उत्पादनको ८० देखि ९० प्रतिशत अफगानिस्तानमा मात्र उत्पादन हुने गरेको छ । सन् २००० मा तालिबान पहिलो पटक सत्तामा आएपछि उनीहरूले यस बालीको खेतीमा पूर्ण प्रतिबन्ध लगाएका थिए।

अफगानिस्तानमा आक्रमणपछि अमेरिकी र नेटो सेनाले पनि झण्डै दुई दशकसम्म अफिम खेती रोक्ने प्रयास गरेका थिए । यसबीच गहुँ वा केसरआदि वैकल्पिक बाली का लागि किसानलाई पैसा पनि दिइयो तर ती सबै प्रयास असफल सावित भए । त्यतिबेलाका विज्ञहरूका अनुसार विदेशी सेनाको उक्त प्रयास तालिबानले विफल बनाएको थिए किनभने उनीहरूले महत्त्वपूर्ण अफिम उत्पादन गर्ने क्षेत्रहरू नियन्त्रण गरेका थिए ।

यसको व्यापारबाट तालिबानले लाखौं डलर कमायो । विदेशी सेनासँग लड्न र हतियार किन्न पनि यही डलर प्रयोग भएको थियो । अफगानिस्तानमा उत्पादित अफिम विश्वका विभिन्न देशमा पुग्छ र त्यसको तस्करीका लागि अफगानिस्तानका छिमेकी मुलुकका रुटहरू प्रयोग गरिन्छ ।

प्रतिक्रिया