गोरखा : दुवैै निर्वाचन क्षेत्रमा गठबन्धनलाई अग्रता

गोरखा । गोरखामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनले अग्रता जारी राखेको छ । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म नौ हजार पाँच सय २६ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
साँझसम्मको मतपरिणामअनुसार उनले मतान्तर फराकिलो बनाउँदै लगेका हुन् । अध्यक्ष दाहालले आफ्ना मुख्य प्रतिस्पर्धी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई छ हजार आठ सय ८८ मतले अग्रता कायम गरेका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।
बुर्लाकोटीले अहिलेसम्म तीन हजार ३८ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेदवार नेकपा (एमाले) का अब्दुस सलिम मियाँले कूल दुई हजार ९८ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका राजेन्द्र बजगाईं अग्रस्थानमा छन् ।
उनले साँझसम्मको मतणनाअनुसार तीन हजार एक सय ६२ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए । एमालेका उम्मेद्वार रामशरण बस्नेतले नौ सय ३६ मत ल्याएर बजगाईंलाई पछ्याइरहेका छन् । प्रतिनिधिसभातर्फ यो क्षेत्रमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३७ मत प्राप्त गरेको उनले बताए । दुवै क्षेत्रमा मतगणना जारी छ ।
प्रतिक्रिया