लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओली संसद् प्रवेश गर्दै

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन् ।
अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । अब उनले छैटाैँ पटक प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय संसद्मा प्रवेश गर्नेछन् ।
अध्यक्ष ओलीले ५२ हजार तीन १९ मत प्राप्त गरी जीत हासिल गरेका हुन् उनका निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ प्राप्त गरे । अध्यक्ष ओली २८ हजार पाँच सय ७६ मताअन्तरले जित हासिल गरेका हुन् ।
दमक नगरपालिका–१०, झापा स्थायी ठेगाना भई हाल भक्तपुरको बालकोट निवासी पूर्वप्रधानमन्त्री ओली बाबु मोहनप्रसाद ओली र आमा स्व मधु ओलीको सन्तानको रुपमा २००८ फागुन ११ गते जन्मिएका हुन् ।
एमाले अध्यक्ष ओलीले २०२५ सालदेखि पूर्णकालीन राजनीतिक यात्राको आरम्भ गरेका थिए । विसं २०२९ मा झापा आन्दोलनपछि १४ वर्ष जेल जीवन व्यतित गरेका थिए । उनी २०४४ सालपछि पुनः पार्टी गतिविधिमा सक्रिय भएका थिए ।
पूर्वप्रधानमन्त्री ओलीले २०४६ सालमा तत्कालीन नेकपा (माले) को लुम्बिनी प्रमुख भएर काम गरेका थिए । त्यस्तै, २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको संस्थापक अध्यक्ष भएर काम गरे । पूर्वप्रधानमन्त्री ओलीे २०४७ सालमा नेकपा (एमाले) को स्थायी समिति सदस्य बनेका थिए ।
ओली २०७१ सालमा एमालेको अध्यक्ष बनेका थिए भने भने २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष बनेका थिए ।
एमाले अध्यक्ष ओलीले २०४८, २०५१ र २०५६ सालमा झापा–६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी निर्वाह गरेका थिए । संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा–७ बाट निर्वाचित भई उनले संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । ओली सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित भएका थिए भने भने अहिले उनी झापा–५ बाट विजय भएका हुन् ।
एमाले अध्यक्ष ओलीले २०७२ र २०७४ मा गरी दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनले त्यसअघि, उपप्रधान एवं परराष्ट्रमन्त्री २०६३ सालमा र २०५१ सालमा गृहमन्त्रीको कार्यभार सम्हालेका थिए ।
प्रतिक्रिया