रुपन्देही ५, कास्की २ र खोटाङ प्रदेशसभा (१)मा एमाले उम्मेद्वार निर्वाचित

काठमाडाैं । रुपन्देही –५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् । उनले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन् । गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिए ।
त्यस्तै, कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेद्वार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन् । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी थिइन् ।
त्यसैगरी, खाेटाङ प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेद्वार पाँचकर्ण राई ‘पिके’ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार एक सय ९२ मतान्तरले पराजित गर्दै पिके प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनले १३ हजार एक सय ५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार नौ सय ६५ मत प्राप्त गरेका छन् । विसं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित पिके विसंं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए ।
प्रतिक्रिया