आइतबार, असार २२, २०८२

रामचन्द्र पौडेलको छैटौँ पटक संसद् यात्रा

नेपालखोज २०७९ मंसिर ८ गते १४:१६

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन् ।

उनले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ-२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत तनहुँ-१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गरेका थिए । यसका लागि पौडेलले नेकपा (एमाले)का एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गरे ।

कुल ६६ हजार एक सय ५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेका छन् ।

जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताएका छन् । देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।

विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी भएका थिए ।

पौडेल २०४८ सालमा तनहुँ-१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनी यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसकेका छन् ।

उनले सभामुखको जिम्मेवारी पनि निभाएका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन्।

जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले दुई प्रदेशसभा, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले एक/एक प्रदेशसभामा विजयी हासिल गरेका छन् ।

प्रतिक्रिया