आइतबार, असार २२, २०८२

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेद्वार विजयी

नेपालखोज २०७९ मंसिर ९ गते ६:३३

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेद्वार रहेका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेद्वार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गरेका छन् ।

सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार दुई सय ९५ सदर मत खसेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार दीपककुमार मल्लले सात सय ९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले दुई सय आठ र स्वतन्त्र उम्मेद्वार तारक केसीले तीन हजार पाँच सय ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेद्वार विजयी भएका छन् । प्रदेशसभा (१) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले आठ हजार ८१ मत ल्याएका छन् । त्यसैगरी, रुकुम पश्चिम प्रदेशसभा (२) मा माओवादी केन्द्रकै्र उम्मेद्वार राजकुमार शर्माले २० हजार एक सय ६० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले आठ हजार ८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया