प्रत्यक्षमा महिलाहरुको कमजोर उपस्थिति

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जना महिला मात्र निर्वाचित हुन सकेका छन् । अहिले चलिरहेको मतगणनामा अग्रताको स्थिति हेर्दा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने महिलाको संख्या १० पनि नकटने देखिन्छ ।
प्रतिनिधिसभामा धनुषा–३ बाट जुलीकुमारी महतो, बारा–३ बाट ज्वालाकुमारी साह तथा कास्की–२ बाट विद्या भट्टराई बिजयी भएका छन् । उनिहरुले एमालेको प्रतिनिधित्व गर्छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं–२ मा सोविता गौतम तथा ललितपुर–३ मा तोसिमा कार्की गरी दुई महिला निर्वाचित भएका छन ।
माओवादी केन्द्रबाट चुनाब जित्नेहरुमा दाङ–२ बाट निर्वाचित रेखा शर्मा एक मात्र महिला हुन् । यसैगरि नागरिक उन्मुक्ति पार्टीकि रञ्जिता श्रेष्ठ कैलाली–१ बाट निर्वाचित भएकि छिन । यसक्रममा नेपाली कांग्रेसबाट प्रत्यक्षमा एक जना पनि महिला निर्वाचित भएका छैनन् । यसैगरि १० सिट जितेको एकीकृत समाजवादीमा सबै पुरुष मात्र निर्वाचित भएका छन । राप्रपाबाट जितेका पाँचै जना पनि पुरुष हुन् भने लोकतान्त्रिक समाजवादी पार्टी तथा जनता समाजवादी पार्टीले जितेका सबै सांसद पुरुष छन् ।
यता नेपाल मजदुर किसान पार्टी , राष्ट्रिय जनमोर्चा तथा जनमत पार्टीले जितेका १-१ सिटमा पनि कोहि महिला छैनन् । स्वतन्त्र रुपमा निर्वाचित ५ जनामा समेत सबै पुरुष छन् । यस हिसाबले प्रत्यक्ष तर्फको निर्वाचनमा महिला उपस्थिति निकै कमजोर देखिन्छ । त्यसै पनि दलहरुले महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका थिए भने अहिले मत परिणामले थप निरासा सिर्जना गरेको छ ।
प्रतिक्रिया