अमेरिका तथा पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने दुईजना पक्राउ

नेपालखोज २०७९ मंसिर १२ गते २०:०६

काठमाडौं । अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३२ सुविधानगर तिनकुने बस्ने ३० वर्षीया धन कुमारी ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहीन भएका योगेश राजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो ।

साथै धन कुमारी समेतले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपैयाँ ठगी गरी सम्पर्क विहीन भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले धन कुमारीलाई ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

त्यस्तै बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा बस्ने जुम्ला कनकासुन्दरी गाउँपालिका–५ घर भएका ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ घर भई भक्तपुर चागुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्द प्रसाद पराजुली रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले देवी प्रसादलाई ललितपुर बालकुमारीबाट आइतबार र मुकुन्द प्रसाद पराजुलीलाई भक्तपुर चागुनारायणबाट सोमबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७८ मंसिर १४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा देवी कृष्ण न्यौपानेलाई ९ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय तथा सोही अदालतको २०७९ साउन १५ गतेको फैसलाले मुकुन्द प्रसाद पराजुलीलाई १५ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको थियो । उनीहरूले पीडितलाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

फैसला कार्यान्वयनको लागि पक्राउ परेकामध्ये देवी कृष्णलाई जिल्ला अदालत ललितपुर र मुकुन्द प्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

प्रतिक्रिया