आइतबार, जेठ ६, २०८१

जेलमा के गर्दैछन् नवजोत सिंह सिद्धु ?

नेपालखोज २०७९ मंसिर १३ गते १४:३४

पञ्जाब प्रदेश कांग्रेस कमिटी (पीपीसीसी) का पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुका एक सहयोगीका अनुसार-पटियाला सेन्ट्रल जेलमा रहँदा उनले पछिल्ला छ महिनामा कडा आहार नियन्त्रण तथा दुई घण्टा योग-व्यायाम गरेर ३४ किलो तौल घटाएका छन्। सिद्धु ६ फिट २ इन्च अग्ला छन ।

सन् १९८०-९० को दशकका यी दिग्गज क्रिकेटरको तौल अहिले ९९ केजी छ। सन् १९८८ को रोड रेज मुद्दामा सिद्धु एक वर्षको जेल सजाय काटिरहेका छन् । सिद्धुका सहकर्मी तथा पूर्व विधायक नवतेज सिंह चीमाका अनुसार सिद्धु कम्तिमा चार घण्टा ध्यान तथा दुई घण्टा योग र व्यायाम गर्छन् भने दुईदेखि चार घण्टा पढ्छन् अनि चार घण्टा मात्र सुत्छन् ।

इन्डियन एक्सप्रेसका अनुसार चीमाले पटियाला जेलमा सिद्धुसँग ४५ मिनेट लामो भेट गरेका थिए । उनले भने ‘जब सिद्धु आफ्नो सजाय पूरा गरेर बाहिर निस्कनेछन्, तब तपाईहरु उनलाई देखेर तपाई छक्क पर्नुहुनेछ। उनी ठ्याक्कै त्यस्तै देखिन्छन् जस्तो उनी क्रिकेटरका रूपमा पहिले देखिन्थे । चिमा भन्छन् – उनी शान्त छन् किनभने उनी बढी समय ध्यानमा बिताउँछन्।

पूर्व विधायक चीमाले सिद्धुको अवस्था बाट आफूलाई साँच्चै राम्रो महसुस भएको दाबि गरेका छन । पहिले चिन्ताको विषय भएको उनको कलेजो अहिले धेरै राम्रो भएको सिद्धुले मलाई बताए । डाक्टरहरूले उनलाई नरिवलको पानी, क्यामोमाइल चिया, बदामको दूध र रोजमेरी चिया सहित विशेष आहार खाने सल्लाह दिएका छन । उनि अहिले चिनी र गहुँबाट टाढै छन र दिनमा दुई पटक मात्र खाना खान्छन । साँझ ६ बजेपछि केही खाँदैनन् ।

चीमाले सिद्धुले जेल मै दिनको केही घण्टा क्लर्कको काम गर्ने गरेको बताए । कारागारका अधिकारीहरूले उनलाई केही कागजपत्र पठाउँछन् जसको काम उनि हरेक दिन आफ्नो ब्यारेकबाटै सम्पन्न गर्छन । कारागार नियमावली अनुसार कैदीहरूलाई अदक्ष, अर्धदक्ष र दक्ष श्रेणीमा विभाजन गरिएको छ । अदक्ष र अर्धदक्ष कैदीले प्रतिदिन क्रमशः ४० तथा ५० भारु पाउँछन् । दक्ष कैदीले दैनिक ६० भारतिय रुपैयाँ प्राप्त गर्छन् ।

सेप्टेम्बरसम्म पञ्जाबी गायक दलेर मेहन्दी पनि सिद्धु सँगै थिए, जसलाई ब्यारेक नम्बर १० मा राखिएको थियो । पछि उनी रिहा भए । चीमाले भने, ‘अहिले सिद्धु अन्य कैदीहरूसँगको कुराकानीमा पनि समय बिताउँछन् । सेलिब्रेटी भएकाले कतिपय मानिस उनलाई भेट्न समेत गैरहन्छन् ।

प्रतिक्रिया