शुक्रबार, चैत १६, २०८०

शान्तिपूर्ण विरोध गर्ने जनाधिकारको सम्मान गर्न आग्रह

नेपालखोज २०७९ मंसिर १३ गते १६:५५

काठमाडौं । मानवअधिकार वाच (एचआरडब्ल्यू)ले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारको सम्मान गर्न चीन सरकारसमक्ष अनुरोध गरेको छ ।

चिनियाँ सरकारको कठोर ‘शून्य कोभिड’ नीति तथा त्यसनिम्ति जारी प्रतिबन्धात्मक आदेशको शान्तिपूर्ण ढङ्गले गरिएको विरोधप्रदर्शनका क्रममा जनसाधारण पक्राउ परेकामा चिन्ता व्यक्त गर्दै एचआरडब्ल्यूले जनाधिकारको सम्मान गर्न आग्रह गरेको हो ।

शान्तिपूर्णरुपमा विरोधप्रदर्शन गर्न पाउने स्वतन्त्रता, मानवअधिकारको रक्षा तथा जनताको मौलिक अधिकारको सम्मान गर्न चीन सरकारलाई अनुरोध गर्दै उक्त संस्थाले हिरासतमा राखिएका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न र विरोधप्रदर्शनसँग सम्बन्धित सूचना एवम् समाचार सम्प्रेषण गर्ने अनलाइन पोर्टलको सेन्सरसिप बन्द गर्न आह्वान गरेको छ ।

अघिल्लो साताको मध्यतिर चीनको सबैभन्दा ठूलो सहर एवम् वित्तीय केन्द्र साङ्घाई, राजधानी बेइजिङलगायत ठूला चिनियाँ सहरमा कोभिड-१९ लाई फैलिन नदिन सरकारले जारी गरेका कठोर नियमविरुद्ध विभिन्न विश्वविद्यालयका विद्यार्थी र सर्वसाधारण सडकमा उत्रिएका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पनि चिनियाँ जनताको शान्तिपूर्णरुपमा विरोधप्रर्दन गर्न पाउने अधिकार कुण्ठित हुन नदिन राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारसँग अनुरोध गरेका छन् । महाचिवका प्रवक्ता स्टेफेन डुजारिकले सोमबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा नागरिक अधिकार एवम् स्वतन्त्रताको प्रत्याभूतिका निम्ति महासचिवले जोड दिए ।

प्रतिक्रिया