सामाजिक सञ्जालहरूलाई उत्तरदायी र पारदर्शी हुन आग्रह

नेपालखोज २०७९ मंसिर १४ गते १७:०४

काठमाडौँ । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेपछि अभिव्यक्ति स्वतन्त्रताको लागि लोकप्रिय यो सञ्जालको निष्पक्षता माथि आशंका बढेको छ ।

सामाजिक सञ्जालको सञ्चालनमा पारदर्शिता र उत्तरदायित्वको अवस्था सुनिश्चित नभएको र कम्पनीका व्यवस्थापकहरूको मनोमानी झन् बढ्न सक्ने चिन्ताले अहिले अभिव्यक्ति स्वतन्त्रताका पक्षहरूलाई थप गम्भीर बनाएको छ । त्यसैले सूचना र लोकतन्त्रका लागि विश्वव्यापी फोरमको पहल सुरु भएको छ ।

रिपोटर्स विदाउट बोडर्स (आरएसएफ) को पहलमा सुरु भएको यो फोरमले सामाजिक सञ्जालका सञ्चालक धनाढ्यहरूलाई जवाफदेही र उत्तरदायी संयन्त्र बनाउन र स्वेच्छाचारी ढंगले सञ्जालको नीति तय गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै दबाब दिन थालेको छ । नयाँ प्रोडेमोक्रेटिक सोसल मिडिया इकालोजी आवश्यक भएको बताउँदै फोरमको स्टेरिङ कमिटीका सहअध्यक्षहरू जोरिस्ट लोकन र डामिएन ताम्बिनीले दश बुँदे सिफारिस पत्र जारी गर्नुभएको छ। उहाँहरूले भन्नुभएको छ– सबै देशले अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि ती सिफारिसहरू कार्यान्वयन गराउन ध्यान दिनुपर्दछ ।

स्वतन्त्र प्रेसको रक्षा, सूचनाको हकको प्रत्याभूति र उपभोक्ताको हकको लागि त्यो अति आवश्यक पनि छ, सिफारिसपत्रमा भनिएको छ । ट्विटरका मालिक एलन मस्क समक्ष गरिएका ती दश सिफारिसहरू यस प्रकार छन् :

१. सामाजिक सञ्जालमा समाचारमूलक मिडियालाई एक स्पष्ट स्थान दिइयोस् ताकि उसले आफ्नो अधिकार र कर्तव्यको विशेष भूमिकाका स्वार्थ पूरा गर्न पाओस्, यसलाई सरकारभन्दा फरक एक स्वतन्त्र संस्थाका रूपमा पहिचान दिइयोस् ।

२. सञ्जालको सूचना सामग्री वितरण गर्ने अल्गोरिदम्स् परिवर्तन बारे समाचार माध्यमलाई सुसूचित गरियोस् । अल्गोरिदम्स्को परिवर्तनबाट समाचार माध्यमहरूको आम्दानीमा असर परेमा अर्थात् घटेमा उनीहरूले क्षतिपूर्ति माग्न सकुन र सञ्जालले त्यो उपलब्ध गराओस् ।

३. ट्विटर युजर एकाउन्टलाई धेरै प्रभावशाली भन्ने पहिचान कम्तीमा ५० हजार फलोअर्सका आधारमा होस् । साथै राजनीतिक र सार्वजनिक व्यक्तित्वको एकाउण्ट हो भन्ने पहिचान पनि गरियोस् ।

४. सञ्जालमा विज्ञापन गर्ने र विभिन्न प्रभाव पार्न अभियान गर्नेहरूको नियमन होस् ।

५. त्यस्तो विज्ञापन वा प्रभाव पार्ने अभियानहरूलाई पारदर्शी हुनुपर्ने बाध्यात्मक प्रावधान राखियोस् । उनीहरुको विज्ञापन र अभियान सम्बन्धी करारका शर्तहरू सार्वजनिक गर्नुपर्ने र त्यसको आर्थिक स्रोत पनि थाहा हुने अवस्था सिर्जना गरियोस् ।

६. सार्वजनिक व्यक्तित्व जसले सञ्जालमा बारम्बार भ्रमपूर्ण लगायत विभिन्न सञ्चार गरेर नियम उलंघन गर्छन्, त्यस्ताको एकाउन्ट बढीमा १० वर्षका लागि बन्द गर्ने समयावधि निर्धारण गरियोस् । जस्तो ट्रम्पको एकाउण्ट ।

७. सञ्जालहरूले एउटा छुट्टै पोर्टल सिर्जना गरुन्, ताकि गैरकानुनी व्यवहार र सामग्रीबारे उपभोक्ताले सहजै उजुरी गर्न सकुन् । ८. सञ्जालहरूले उनीहरूको नीतिगत तहमा उपभोक्ताका प्रतिनिधिहरू पनि रहने व्यवस्था गर्नुपर्दछ ।

९. उपभोक्ताहरूले सामाजिक सञ्जालहरूको प्राविधिक रूपान्तरण र परिवर्तन बारे चुनौती दिन सक्षम हुने वातावरण बनाइयोस्।

१०. उपभोक्तालाई कुनै सामग्री हटाइएको भए, रोकिएको भए, पैसा नदिने बनाइएको भए वा सान्दर्भिक बनाउन खोजिएको भए सजग मेसेजद्वारा तुरुन्त सुसूचित गराइनु पर्दछ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया