पाल्पामा असल राजनीतिक संस्कारको अभ्यासजित्ने हार्ने दुबै चुनाब क्षेत्रमा

रामपुर । पाल्पाका निर्वाचित तथा पराजित उम्मेदवार यतिबेला गाउँगाउँमा मतदाता भेटघाटमा व्यस्त बनेका छन् । यही मङ्सिर ४ गतेको निर्वाचनपश्चात् विजयी र पराजित उम्मेदवारहरू आफूलाई मतदान गरी सहयोग गर्ने मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका हुन् ।
निर्वाचनमा विजयी या पराजित उम्मेदवार चुनाव सकिएपछि गाउँ नफर्कने गुनासो बढ्न थालेपछि मतदातालाई निर्वाचनपश्चात् घरदैलोमा पुगेर धन्यवाद दिँदै निर्वाचित उम्मेदवारले आफूले गरेका वाचा पूरा गर्ने र पराजित उम्मेदवारले यहाँको विकास निर्माणमा विजयी उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनअघि मात्र जनताको घरदैलोमा नभई हरेक समय जनताको सुखदुःखमा रहेर काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातालाई धन्यवाद दिन आफ्नो कार्यक्षेत्रमा पुग्ने गरेको पाल्पा क्षेत्र नं १ (१) का प्रदेशसभा सदस्यमा निर्वाचित उम्मेदवार राजुप्रसाद श्रेष्ठले बताए । नेकपा (एमाले) का उम्मेदवार उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
‘निर्वाचनपश्चात उम्मेदवार जनतासामु नपुग्दा उनीहरूका समस्या सधैँ यथावत् नै रह्यो, निर्वाचनमा विजयीपश्चात एक ठाउँमा नारा जुलुस गरेर बस्नुभन्दा सबै जनताको घरघरमा पुगेर खुसी साट्ने गरेको छु, मेरो कार्यकालमा जनमतको कदर गरेर काम गर्नेछु’, प्रदेशसभा सदस्य श्रेष्ठले भने ।
राजनीतिक क्षेत्रमा मतदाताको वितृष्णा बढ्दै गएको छ । जनतासँग नेतृत्व घुलमिल नहुँदा सधैँ गुनासाका आवाज आउने गरेका छन् । हिजोआज भने जनताको धेरै गुनासालाई सम्बोधन गर्दै विजयी या पराजित उम्मेदवार घरदैलोमा निर्वाचन सम्पन्नपश्चात जान थालेका छन् । चुनावपश्चात पहिला गाउँगाउँमा भोजभतेर हुन्थ्यो । राजनीतिक चेतना र संस्कारको विकासले अहिले यस्ता कार्य खासै देखिँदैन ।
पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित नारायणप्रसाद आचार्यले समयतालिका तयार पारेर आफ्नो कार्यक्षेत्रका मतदातासमक्ष धन्यवाद दिँदै घरदैलोमै पुगेर खुसियाली बाँडेका छन् । आचार्य एमालेबाट निर्वाचित भएका हुन्र ।
‘नेतृत्व चुन्ने अधिकार जनतामा छ, जनताले चुनेको नेतृत्वले उनीहरूको मनोभावना बुझेर गाउँको विकासमा तल्लीन हुनुपर्छ, मैले आफ्नो कार्यक्षेत्रमा जनताका गुनासा र समस्यालाई सम्बोधन गरेर काम गर्ने प्रतिबद्धता जनाएअनुसार नै गर्नेछु’, नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आचार्यले भने ।
पराजय भोगेका स्वतन्त्र तथा दलका उम्मेदवारहरूले पनि आफ्नो कार्यक्षेत्रमा पुगेर आफूले प्राप्त गरेको मतले राजनीतिक क्षेत्रमा थप ऊर्जा मिलेको बताउँदै अबका दिन जनताकै सुखदुःखमा रहने प्रतिबद्धता जनाइरहेका छन् ।
प्रतिनिधिसभा पाल्पा क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत सामाजवादी)का उम्मेदवार सोमप्रसाद पाण्डेयले निर्वाचनमा पराजय भोगे पनि गाउँठाउँको विकासमा सधैँ तल्लीन रहने बताए ।
प्रतिक्रिया