‘समृद्धिको मार्ग : कर्णाली करिडोर’

नेपालखोज २०७९ मंसिर १६ गते १६:४६

मान्म । विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एण्ड नर्थ एक्सिस गोर्थ’का रुपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ ।

कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्लालाई जोड्ने छ । यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार पुग्नेछ । कर्णाली करिडोर नामकरण गरी ट्रयाक खोल्न थालेको २१ वर्ष भएको छ । कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी छ सय ८२ किलोमिटर छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर मात्रै रहेको छ । कर्णालीवासीको आशाको केन्द्रका रुपमा रहेको कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका-८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेना जिम्मा एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ ।

चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको एक सय ४६ किलोमिटर हिल्सा-हुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीब्र रुपमा भइरहेको छ । विसं २०७१ चैत ५ गतेदेखि नेपाली सेनाले काम सुरु गरेको सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा-सिमकोट सडक आयोजनालाई २०७८ असार ३१ गते हस्तान्तरण गरेको थियो ।

कर्णाली करिडोरअन्तर्गतको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेनाले निर्माण जिम्मा लिएको सडकमध्ये एक सय ९६ किलोमिटर सडक निर्माण भएर सवारी साधन चल्न थालेका छन् । बाँकी सडकखण्ड निमर्णाधीन अवस्थामा रहेको हिल्सा हुम्ला सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए ।

‘नेपाल सरकारको हिल्सा-हुम्ला सडक आयोजनाले जिम्मा लिएको एक सय ४६ किलोमिटरमध्ये हिल्सादेखि हुम्लाको सिमीकोटसम्मको ९५ किलोमिटर सडक निर्माण भइसकेको छ,’ उनले भने, ‘कर्णाली करिडोरअन्तर्गतको पाँच किलोमिटर सडक खोलेपछि आयोजनाको काम सम्पन्न हुन्छ ।’

ठेकेदारमार्फत काम गराइरहेको आयोजनाले कडा चट्टाने भिर भएका कारणले अहिले निर्माण कार्यमा समस्या भएको यादवले बताए । विष्फोटक पदार्थका लिएर नेपाली सेनाले हुम्ला सडकखण्डमा पनि काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया