मानवअधिकार उल्लंघनका उजुरी

बागमती । बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लंघनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ ।
प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लंघनको विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाइएको छ । कार्यालयका प्रमुख यज्ञ अधिकारीले प्रदेशको सबैभन्दा बढी काठमाडौं र ललितपुर जिल्लामा मानवअधिकार उल्लंघनको उजुरी परेको बताए । दुवै जिल्लामा क्रमश आठ र सात मानवअधिकार उल्लंघनको उजुरी परेको छ । प्राप्त विवरणअनुसार चितवनमा चार, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा तीन, काभ्रेमा दुई, धादिङमा दुई, दोलखामा दुई र रामेछापमा एक वटा उजुरी परेको बताइएको छ ।
प्रदेशको मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा गत आर्थिक वर्षमा कुनै किसिमको मानवअधिकार उल्लङ्घनको उजुरी नपरेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया