मंगलबार, माघ २४, २०७९

राष्ट्र बैंकद्वारा प्रदेश नं १ को आर्थिक प्रदेशगत विवरण सार्वजनिक

नेपालखोज २०७९ मंसिर १९ गते १८:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्वन्धी प्रदेश नं.– १ को वार्षिक प्रतिवेदन २०७८/७९ सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकहरुमा जिल्लागतरुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १६ अर्ब ९६ करोड रुपैयाँ अर्थात ३१ दशमलव एक प्रतिशत कर्जा प्रवाह भएको छ ।

यस अवधिमा सबै भन्दा कम कर्जा सोलुखुम्बु जिल्लामा प्रवाह भएको छ । उक्त जिल्लामा कुल कर्जा रकमको शुन्य छ दशमलव प्रतिशत अर्थात ३५ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेश नं १ मा ताप्लेजुङ, सोलखुम्बु, तेह्थुम, खोटाङ, भोजपुर, ओखलढुंगा, संखुवासभा, पाँचथर, धनकुटा, इलाम, उदयपुर, सुनसरी, झापा र मोरंग सहितका १४ वटा जिल्लाहरु रहेकोमा बेंक तथा फाईनान्स कम्पनीहरुले कुल कर्जा मध्ये १० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको अंश नौं दशमलव छ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नं. १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलव आठ प्रतिशतले वृद्धि भई ५४ अर्ब ५२ करोड पुगेको छ । २०७८ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कुल कर्जा ४६ अर्ब २९ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षक मध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा २५ दशमलव एक प्रतिशत, पशुपालनमा २४ दशमलव पाँच प्रतिशत, अन्नबालीमा १८ दशमलव तीन प्रतिशत, पंक्षीपालनमा सात दशमलव सात प्रतिशत र तरकारी बाली उत्पादनमा पाँच दशमलव छ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया