स्वास्थ्य बिमा : सहज छैन सेवा लिन

नेपालखोज २०७९ मंसिर २१ गते ७:५६

रेसुङ्गा । स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ । अनि बल्ल पालो आउँछ, एउटा बिरामीको स्वास्थ्य जाँच गर्न ।

अस्पतालमा हुने यस्तै झन्झटिलो प्रक्रिया झेल्न बाध्य भए, गुल्मीको रेसुङ्गा नगरपालिका–७ का सुलोचन थापा । ‘स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो छ’, उनी भन्छन्, ‘बिरामी भएर अस्पताल आउने हो, छिटो र सहज हुनुप¥यो’, उनले भने । बिमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने थापाले बताए । स्वास्थ्य बिमा गरेर पनि औषधि बाहिर किन्ने बाध्यतामा छन्, रेसुङ्गा नगरपालिका–७ का ७३ वर्षीय चुरामणि आचार्य ।

उनले सुरुवाती चरणमा नै स्वास्थ्य बीमा गर्नुभएको थियो । बिमाका कारण उनी सधैँ उपचारका लागि गुल्मी अस्पतालमै धाउँछन् । ‘आउँछु बीमाको कार्ड देखाउँछु ज्येष्ठ नागरिक भनेर छिटो–छरितो गर्छन् समयमै उपचार पाउँछु’, उनी भन्छन्, ‘आधाभन्दा बढी औषधि बाहिर किन्न भन्छन्, यसरी त स्वास्थ्य बिमाको के अर्थ भयो र ?’ उनले भने । स्वास्थ्य बिमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनुपर्ने आचार्यको भनाइ छ । मुसिकोट नगरपालिका–२ देउरालीका इन्द्रबहादुर रायमाझी पनि स्वास्थ्य बीमा गरे पनि सबै औषधि निःशुल्क नपाएकामा चिन्तित छन् ।

स्वास्थ्योपचार निःशुल्क हुने आशामा बीमा गरेको भन्दै रायमाझीले बिमा गर्नेहरूको उपचार निःशुल्क भएमा स्वास्थ्य बिमा अझै बढी प्रभावकारी हुने बताए । रेसुङ्गा–१४ का एलिसा पाण्डे भने उपचारमा आफू सन्तुष्ट रहेको बताउँछन् । उपचारमा केही ढिलाइ भए पनि स्वास्थ्य बीमाका कारण आर्थिक हिसाबले कमजोर भएकाहरू पनि उपचारको पहुँचमा पुगेको उनले भनाइ छ ।

‘केही कमी–कमजोरी रहे पनि स्वास्थ्य बीमामार्फत हुने उपचारको सेवा राम्रो छ’, उनी भन्छन्, ‘सबैले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्छ’, पाण्डेले भने । नियमित औषधि प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामी हुनेहरूलाई पनि स्वास्थ्य बिमाले धेरै राहत दिने भएकाले स्वास्थ्य बिमाबाट छुट्न नहुने उनको भनाइ छ । अस्पतालमा आकस्मिकबाहेक अन्य बिरामीका लागि भने स्वास्थ्य बीमा भए पनि वा नभए पनि उपचारको प्रक्रिया एकनासको रहेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार गुल्मीमा बीमा गर्नेहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा सात हजार आठ सय १७, २०७७/७८ मा ५८ हजार तीन सय ९२ र २०७८/७९ मा ९७ हजार दुई सय ४३ जनाले स्वास्थ्य बिमा गराएको बिमा बोर्डका दर्ता अधिकारी धुव्रराज बोगटीले जानकारी दिए । ‘तोकिएका रोगको मात्र उपचार हुने र तोकिएका औषधि मात्र निःशुल्क पाउने हो’, उनी भन्छन्, ‘पोलियोबाट हुने अपाङ्गता, दाँतसम्बन्धीको रोग, सेतो छडी र वैशाखीलगायत केहीको शुल्क तिर्नुपर्छ’, उनले भने ।

स्वास्थ्य बिमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनका लागि नीति नै परिवर्तन गर्नुपर्ने दर्ता अधिकारी बोगटीले बताए । स्वास्थ्य बीमा गर्नका लागि प्रत्येक वडामा रहेका दर्ता अधिकारीसँग सम्पर्क गर्न सकिन्छ । जिल्लाका ९३ वडामा एक–एक जनाका दरले दर्ता अधिकारी छन् ।

प्रतिक्रिया