शुक्रबार, वैशाख ७, २०८१

विश्वकप फुटबल-२०२२: विश्वकपका अविस्मरणीय पेनाल्टी सुटआउट

नेपालखोज २०७९ मंसिर २३ गते ११:२४

काठमाडौं । सुन्दर खेल फुटबलको सबैभन्दा रोमाञ्चक भाग पेनाल्टी शूटआउट पनि हो । यो नकआउट चरणमा अतिरिक्त समयमा पनि खेल बराबरि रहदा विजेता निर्णय गर्ने उपाय हो जहाँ एउटा गल्तीले टिमलाइ नै घर फर्काउँछ । फ्यानहरूका लागि पेनाल्टी सुटआउटभन्दा रोमाञ्चक अरू केही हुँदैन । हामी आफै पनि आफुले हेरेका केही शुटआउटका बारेमा सोचौं त ? त्यतिबेला कति रोमान्च , उत्तेजना अनि व्यग्रता महसुस हुन्छ ?

कतारमा जारि फिफा विश्वकप-२०२२ मा पहिलो पटक पेनाल्टी सुटआउटमा क्रोएसियाले जापानलाई हराएको थियो भने मोरक्कोले स्पेन लाई घर फर्कायो । क्रोएसियाली गोलकिपर डोमिनिक लिभकोभिकको उत्कृष्ट प्रदर्शनका कारण क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गर्यो । विश्वकपको पेनाल्टी सुटआउटमा तीन गोल बचाउ गरेको त्यो क्षण अहिले सबैका लागि यादगार क्षण बन्नपुगेको छ ।

पेनाल्टी सुटआउटको पहिलो प्रयोग सन् १९८२ मा स्पेनमा सम्पन्न फिफा विश्वकपमा भएको थियो। त्यसयता विश्वकपमा केही आश्चर्यजनक पेनाल्टी शूटआउट भएका छन् जसमा प्रशंसकहरूको मुटुको धडकन नै रोकिएला जस्तो भएको थियो । आउनुहोस्, विश्वकप इतिहासका सबैभन्दा अविस्मरणीय पाँच पेनाल्टी सुटआउटको संम्झना गरौं ।

दक्षिण कोरिया बिरुद्ध स्पेन ( विश्वकप – २००२ ) : यो सबैभन्दा विवादास्पद विश्वकप मध्ये एक हो । धेरै प्रशन्सक तथा विज्ञहरूले यो खेलमा निर्णायकले आयोजक राष्ट्रको पक्षमा पक्षपात गरेको भन्दै औंला समेत उठाए । यो क्वार्टर फाइनलको खेल बराबरीमा सकिएको थियो र विजेता निर्धारण गर्न पेनाल्टी सुटआउट गरिएको थियो। नतिजा ५–३ ले दक्षिण कोरियाको पक्षमा रह्यो र कोरिया सेमिफाइनलमा पुग्यो । जाभी, लुइस एनरिक, राउल, इकर कासिलास तथा कार्लेस पुयोल जस्ता स्टार खेलाडी समाबेस रहेको स्पेनिस टिम पराजित हुँदै घर फर्कियो।

पोर्चुगल बिरुद्ध इङ्गल्याण्ड ( विश्वकप – २००६ ) : सेमिफाइनलका लागि पोर्चुगल र इंग्ल्याण्डबीच भिडन्त भएको थियो । दुबै टिम विश्वकपका प्रवल दाबेदार थिए र सेमिफाइनलका लागि योग्य पनि भए। खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भयो । सन् १९९८ को विश्वकपमा अर्जेन्टिना र इङ्ल्यान्डबीचको पेनाल्टी सुटआउटमा हार बेहोरेको सम्झना इङ्ल्यान्डका फ्यानहरूको दिमागमा ताजै थियो । २००६ मा पनि इङ्ल्यान्ड पोर्चुगलसँग पेनाल्टी सुटआउटमा पराजित भयो । उक्त पेनाल्टी सुटआउटमा पोर्चुगलका गोलकिपर रिकार्डोले उत्कृष्ट प्रदर्शन गर्दै तीन वटा सुट बचाए र विश्वकपको पेनाल्टीमा तीन वटा पेनाल्टी छेक्ने पहिलो खेलाडी बने।

अर्जेन्टिना बिरुद्ध नेदरल्याण्ड्स ( विश्वकप – २०१४ ) : यो खेल अर्जेन्टिना र लियोनल मेस्सीका सबै फ्यानका लागि अविस्मरणीय छ । निर्धारित समयमा ०–० को बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा गएको थियो । विश्वकप २०१४ को सेमिफाइनलको निर्णय पेनाल्टी मार्फत तय हुने भयो र त्यो पनि युरोपेली तथा दक्षिण अमेरिकी पावरहाउस बीच । जसको नतिजा अनुसार अर्जेन्टिना फाइनलमा पुग्यो ।

ब्राजिल बिरुद्ध इटाली ( विश्वकप – १९९४ ) : अमेरिकामा आयोजित यो प्रतियोगिता इटालीका लागि विशेष थियो। स्टार खेलाडी रोबर्टो ब्यागियोले इटालीलाई १९९४ को विश्वकपको फाइनलमा पुर्याएका थिए। फाइनलमा इटालीले दक्षिण अमेरिकी महारथी ब्राजिलको सामना गरेको थियो । एकातिर काफु र रोमारियो जस्ता खेलाडीहरूको ब्राजिल अर्कातिर ब्यागियो र माल्डिनी जस्ता दिग्गजहरुको इटालि । खेल गोलरहित बराबरीमा सकियो र फाइनलको निर्णय गर्न पेनाल्टी सुटआउट हुनेभयो।
यो फिफा विश्वकपको फाइनलको निर्णय पेनाल्टी सुटआउटबाट मार्फत हुनलागेको पहिलो घटना थियो। यसमा इटालीका स्टार रोबर्ट ब्यागियोले अन्तिम पेनाल्टी हान्नुपर्ने थियो । इटाली र ब्राजिल बराबरिमा थिए , दुबै तर्फबाट ९ वटा सुट हानिसकिएको थियो । ब्राजिल ५ र इटाली ४ को स्थितिमा अन्तिम सुट हान्न इटालियन सुपरस्टार रोबर्ट ब्यागियो आए तर सबैलाई आश्चर्यमा पार्दै यी इटालियन सुपरस्टारले अन्तिम पेनाल्टी मिस गरे जसको परिणाम ब्राजिलले चौथो पटक उपाधि जित्यो।

इटाली बिरुद्ध फ्रान्स ( विश्वकप – २००६ ) : फ्रेन्च प्रशन्सकहरु २००६ को विश्वकपको फाइनलमा आफ्ना स्टार जिनेदिन जिदानको कुख्यात हेडलाई बिर्सन सक्दैनन्। उक्त हेडका कारण जिदानले रातो कार्ड पाएका थिए , जुन पेनाल्टी सुटआउट फ्रान्सका लागि ठूलो दुर्भाग्य साबित भयो किनभने उनी मैदानमा भएको भए प्रतियोगिताको नतिजा अर्कै हुन सक्थ्यो ।

निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि इटाली र फ्रान्सको फाइनल खेल पेनाल्टी सुटआउटमा गयो । विश्वकपको फाइनलको निर्णय पेनाल्टी मार्फत हुन लागेको यो दोस्रो अबसर थियो । यद्यपि, १९९४ को संस्करणको विपरीत इटालीले आफ्ना सबै किकलाइ गोलमा परिणत गर्यो र चौथो पटक विश्वकपको उपाधि जित्न सफल भयो।

प्रतिक्रिया