बिहीबार, जेठ १२, २०७९

समयमै बालबालिकाको अपांगताको पहिचान

नेपालखोज २०७९ वैशाख ३१ गते ९:४७

शारीरिक, मानसिक, सामाजिक, भाषिक र संवेगात्मक कारणले कुनै बालबालिकाले आफ्नो नियमित क्रियाकलाप गर्न असक्षम हुन सक्छन् । तर समयमै उमेर अनुसारको विकास, सक्षमता र अपांगताको पहिचान गरी उपयुक्त वातावरण र अवसर पाएमा ती बालबालिका स्वावलम्बी हुन सक्छन् ।

अपांगताका केही कारणहरू :
-जन्मजात असामान्यत:
-आमाबाबुबाट शिशुमा रोग सर्नु
-गर्भावस्थामा समस्या हुनु
-प्रशवका बेला समस्या र जटिलता आउनु
-जबर्जस्ती प्रसूती गराउनु
-दुर्घटना भएमा
-रोग लागेमा : जस्तै पोलियो, अति ज्वरो, मस्तिष्क ज्वरो, आदि
-गम्भीर कुपोषण
अपांगताको पहिचान कसरी गर्ने ?
सामान्य रुपमा निम्न सङ्केतबाट अपांगताको पहिचान गर्न सकिन्छ ।
-आफ्ना शिशुको हरेक क्रियाकलाप ध्यान पूर्वक अवलोकन गर्ने,
-स्पर्श, आवाज, अन्य व्यक्ति, आँखाको सम्पर्क र खेलौनाहरूप्रति शिशुले प्रतिक्रिया गर्छ, गर्दैन ध्यान दिने,
-शिशुका आँखा वरिपरि रङ्गीन वस्तुहरू हल्लाउँदा हेर्छ, हेर्दैन परीक्षण गर्ने,
-शिशुलाई पछाडीबाट बोलाउने वा घण्टी बजाउँदा आवाजतिर फर्कन्छ, फर्कदैँन हेर्ने,
-उमेरअनुसार बस्ने, घस्रिने, हिंड्ने र टाउको सन्तुलन गर्ने क्रियाकलाप गर्न सक्छ, सक्दैन हेर्ने,
-उमेर अनुसार स्पष्टसँग कुराकानी (संचार) गर्न सक्छ, सक्दैन हेर्ने,
-अनुभव गरेका, सिकेका कुरा सम्झेर बताउन सक्छ, सक्दैन ध्यान दिने,
-दैनिक दिनचर्याका परिवर्तनलाई स्वीकार गर्न गाह्रो मान्छ मान्दैन, ध्यान दिने,
-अरुसँग घुलमिल हुन र साथी बनाउन गाह्रो मान्छ मान्दैन हेर्ने ।

अपांगताको रोकथाम
-आमा तथा बालबालिका प्रतिरक्षित खोप लगाउने ।
-पौष्टिक खाना खाने र गर्भावस्थामा स्वस्थ रहने ।
-गर्भावस्थामा रक्सी, चुरोट, लागुपदार्थ नखाने ।
-डाक्टरको सल्लाहबिना औषधि सेवन नगर्ने ।
-गर्भावस्थामा छँदा एक्स रे नगराउने ।
-सरुवा रोग हुनबाट सावधान भई बच्ने ।
-गर्भावस्थामा छँदा र सुत्केरी भएपछि सम्भाव्य दुर्घटनाहरूबाट जोगाउने ।
-स्वास्थ्य संस्थामा दक्ष स्वास्थकर्मीको सहयोगमा प्रसूति गराउने ।

अपांगता भएका बालबालिकालाई हौसला
अपांगता भएका बालबालिका र अपांगता नभएका बालबालिकामा उस्तै भावना र आवश्यकता हुने हुँदा समान व्यवहार गर्नुपर्दछ । वृद्धि विकास हुने अवसर र वातावरण दिएर हुर्काउनु पर्दछ । बालबालिकालाई आमाबाबु र परिवारहरूबाट टाढा राखिनुहुन्न । उनीहरूका शारीरिक एवम् मानसिक भाषा र सिकाइसम्बन्धी चुनौती भए पनि उनीहरूका माया र हेरचाहको अधिकार हुन्छ । उनीहरूको सबल पक्ष पहिचान गरी हौसला र उत्प्रेरणा गरेर आत्मविश्वास बढाउनुका साथै क्षमता विकास गर्ने व्यवस्था गर्नु पर्दछ ।

बालबालिकाको कुनै अपांगताप्रति केन्द्रित नभई उनीहरूमा रहेको क्रियाशिलता र सक्षमतालाई पहिचान गरी त्यसैलाई अधिकतम विकास गराउनु पर्दछ ।

शिशु बालबालिकाको अपांगताको अवस्था र विकासात्मक चरण अनुसार उत्प्रेरणा प्रदान गर्नु पर्दछ । कहिले पनि बालबालिकालाई दुर्व्यवहार, हिंसा र अवहेलना गर्नु हुँदैन । अपांगता भएका बालबालिकाका लागि उचित शिक्षा र अवसर सुनिश्चित गर्नु पर्दछ । अभिभावकका लागि पनि नेपाल सरकार तथा विभिन्न संघसंस्थाबाट तालिमको पनि व्यवस्था पनि हुने हुँदा त्यस्ता विशेष तालिमले सहयोग पुर्‍याउँछ । शिशु बालबालिकाको अपांगताको अवस्था अनुसार सम्बन्धित वडा कार्यालय, नगरपालिका, गाउँपालिकाको महिला बालबालिका शाखामा सम्पर्क गरी परिचय पत्र तथा सेवा लिनुपर्दछ ।
-युनिसेफ नेपाल

प्रतिक्रिया