ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको निर्णय फेरि एकपटक पेनाल्टी सुटआउटमार्फत भएको छ जसमा पाँचपटकको विजेता ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमीफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी रंगशालामा सम्पन्न पहिलो क्वार्टरफाइनलमा भएको पेनाल्टि सुटआउटमा ४ – २ गोलको नतिजा निकाल्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
साविक उपविजेता क्रोएसियासँग पराजित ब्राजिल लगातार दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको छ । खेलको १०५ औं मिनेटमा ब्राजिलका नेइमारले गोल गरे पनि लगत्तै ११६ औं मिनेटमा क्रोएसियाका ब्रुनो पेल्कोभिकले गोल फर्काएका थिए। नेइमारकाे याे ७७औं अन्तर्राष्ट्रिय गोल हाे । यो गोलसँगै उनले ब्राजिलियन राष्ट्रिय टिमका सर्वाधिक गोलकर्ता पेलेको रेकर्डसँग बराबरी गरेका छन । नेइमारले १२४ खेल खेल्दै पेलेको कीर्तिमानको बराबरी गरेका हुन् । पेलेले ९२ खेलमै उक्त उपलब्धी हासिल गरेका थिए । पेनाल्टी सुटआउटमा ब्राजिलका रोद्रिगोको किक क्रोएसियाका गोलकिपर लिभाकोभिकले विफल तुल्याएका थिए भने मार्किन्होसको प्रहार पोलमा लागेको थियो ।
ब्राजिलका लागि कासिमेरो र पेड्रोले मात्र गोल गरेका थिए भने क्रोएसियाका सबै खेलाडी पेनाल्टीमा सफल भए । ब्राजिलले क्रोएसियामाथि लगतार दबाब कायम गरे पनि बललाई जालि चुमाउन सकेन । उक्त खेलमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले निर्धारित ९० मिनेटमा ब्राजिलका ८ वटा प्रहारको बचाउ गरेका थिए भने पेनाल्टी सुटआउटमा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । जापान बिरुद्धको प्रीक्वाटरफाइनलमा भएको पेनाल्टी सुटआउटमा पनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नै नायक थिए । सेमिफाइनलमा क्रोएसियाले शुक्रबार राति सम्पन्न दोस्रो क्वार्टरफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल मंसिर २७ गते मंगलबार राति १२ : ४५ बजे प्रारम्भ हुनेछ ।
प्रतिक्रिया